पदकधारी कराते खेलाडी स्वदेश फिर्ता
काठमाडौं, असोज १४ गते ।
जापानमा आयोजित दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीसहितको टोली मंगलबार राति स्वदेश फर्किएको छ।
जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औं एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिप मा सहभागी नेपाली टोली मंगलबार राति १०ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
दुवै प्रतियोगितामा नेपालबाट ३ पुरुष र ५ महिला गरी ८ खेलाडीले सहभागिता जनाएका थिए। एसियाली खेलकुदमा सहभागी खेलाडीले नै योकोहामामा भएको प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका थिए।

२०औं एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले पुरुष ८४ केजीमाथि कांस्य पदक जिते। यो पदक २०औं एसियाडमा नेपालले जितेको पहिलो पदकसमेत हो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए।
एसियाडको करातेमा तेन्जिङ नेपाललाई पदक दिलाउने पाँचौं खेलाडी बनेका छन्। यसअघि करातेबाट नेपालले एक रजत र तीन कांस्य पदक जितिसकेको छ। सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले, २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत पदक जितेका थिए।

यता, योकोहामामा भएको ११औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक जितेको छ। नेपालले व्यक्तिगत स्पर्धामा ४ तथा टिम स्पर्धामा २ पदक हात पारेको हो।
महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धर ले नेपाललाई स्वर्ण पदक दिलाए। महिला ६८ केजीमुनि निरुपा दोङ तामाङ ले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङ ले कांस्य जिते।
एरिका र निरुपाले महिला टिम कुमुतेमा पनि कांस्य पदक जिते। उनीहरूसँगै मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले उक्त स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टिम कातामा पनि कांस्य पदक हात पारे।
एसियाली खेलकुदमा सहभागिता जनाएपछि नेपाली टोली नागोयाबाटै योकोहामा पुगेर अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा सहभागी भएको थियो।
पदक विजेता तेन्जिङ शेर्पाले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए।

स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिशा खम्बु र ललिता नाथ, नेपाल कराते महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा परिवारजनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
खेलाडीसँगै टोलीका व्यवस्थापक तथा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन्।


