एसियाली खेलकुद : मुकेशले बनाए नयाँ राष्ट्रिय कीर्तिमान, क्रिकेटमा नेपाल बाहिरियो
आइची नागोया, जापान असोज १३ ।
२०औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार विभिन्न खेलमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। एथलेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ भने क्रिकेटमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ।
एथलेटिक्समा मुकेशको नयाँ राष्ट्रिय कीर्तिमान
पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। उहाँले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्नुभयो।
यससँगै पालले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्र भण्डारीले कायम गर्नुभएको १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्नुभएको हो। प्रतियोगितामा सहभागी १८ खेलाडीमध्ये पाल नवौँ स्थानमा रहनुभयो।
क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरियो
टी–२० क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। खेल हुन नसकेपछि आईसीसी टी–२० वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
रातभर वर्षा भए पनि खेल हुने आशामा ठूलो संख्यामा नेपाली दर्शक कोरोगी एथलेटिक्स पार्क पुगेका थिए। खेल रद्द भएपछि उनीहरू निराश हुँदै फर्किएका थिए।
क्यानोइङमा दुई नेपाली खेलाडी सेमिफाइनलमा
राफ्टिङ एन्ड क्यानोइङअन्तर्गत मंगलबार भएको प्रतिस्पर्धामा नेपाली खेलाडी विजय माझी र आशिष रानामगर हिट चरण पार गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। उनीहरूले Canoe Slalom (K1) र Kayak Cross इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्।
टेनिसमा नेपालको यात्रा समाप्त
पुरुष सिंगल्सको दोस्रो राउण्डमा प्रदीप खड्का थाइल्यान्डका SAMREJ Kasidit सँग ६–२, ६–२ ले पराजित हुनुभयो। यस्तै अभिषेक बास्तोला काजकिस्तानका SHEVCHENKO Aleksandr सँग समान ६–२, ६–२ को सेटमा पराजित हुनुभयो।
मिक्स डबल्समा स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी इन्डोनेसियाली जोडीसँग ६–१, ६–१ ले पराजित भयो। पुरुष डबल्समा अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी भारतीय जोडीसँग ६–२, ६–१ ले पराजित भयो। यससँगै नेपाली टेनिस टोलीको एसियाली खेलकुद यात्रा समाप्त भएको छ।
आर्चरीमा पनि नेपाली खेलाडी पराजित
रिकर्भ पुरुष व्यक्तिगत इलिमिनेसनमा तिलक पुनमगर कतारी खेलाडीसँग ६–२ अंकले पराजित हुनुभयो। महिला रिकर्भ व्यक्तिगत इलिमिनेसनमा ज्ञनु अवाले पनि कतारी खेलाडीसँग ७–१ अंकले पराजित हुनुभयो।


