दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ–मन्त्री पोखरेल

काठमाडौं, असोज १८ गते ।

शिक्षा तथा खेलकुद मन्त्री एवं दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिका अध्यक्ष सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना हुने बताएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पटक–पटक मिति सरेकाले प्रतियोगिता पुनः सर्ने हो कि भन्ने आशंका स्वाभाविक भए पनि यसपटक निर्धारित समयमै प्रतियोगिता हुने स्पष्ट पारे ।

‘यसपटक प्रतियोगिता निर्धारित समयमै हुन्छ, कुनै द्विविधामा नरहनुहोस्,’ उनले भने, ‘मूल आयोजक समितिको बैठक कर्णाली प्रदेश रंगशालामा हुनु नै दसौं राष्ट्रिय खेलकुद सुरु भएको सन्देश हो । प्रतियोगिता प्रभावकारी बनाउन सबै सरोकारवालाको साथ र सहयोग आवश्यक छ।’

मन्त्री पोखरेलले बैठकपछि कर्णाली प्रदेश रंगशाला परिसरमा रहेका विभिन्न खेल पूर्वाधारको समेत अवलोकन गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठक कर्णालीमा आयोजना हुनुले प्रदेश दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न सक्षम रहेको सन्देश दिएको बताए ।

बैठकले दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा २०८३ मंसिर १६ देखि २७ गतेसम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डको निर्णयप्रति सहमति जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । प्रतियोगिता भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।

दसौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल समावेश गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्य अघि बढाउने निर्णय भएको छ । प्रतियोगितालाई प्रभावकारी बनाउन निजी संघसंस्था तथा सबै सरोकारवाला निकायको सहभागितामा सार्वजनिक–निजी साझेदारीको अवधारणा अवलम्बन गर्ने र प्रायोजकसँग सम्झौता गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३ अनुसार दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा राखेप सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी गराउँदै सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दसौं राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिकी संयोजक तथा राखेप सदस्य मोनालिशा खम्बुले बैठकका निर्णय सार्वजनिक गरेकी थिइन् ।

सदस्य–सचिव मेहताका अनुसार दसौं राष्ट्रिय खेलकुदका लागि ४४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अपुग रकमसमेत समेटेर कुल ७१ करोड रुपैयाँ बजेटका लागि नेपाल सरकारबाट सहमति प्राप्त भएको उनले जानकारी दिए ।

प्रथम पारा राष्ट्रिय खेलकुद करिब पुस १५ गतेदेखि सुरु हुने र त्यसका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मेहताले बताए ।

उनका अनुसार दसौं राष्ट्रिय खेलकुदमा करिब ६ हजार ५ सय खेलाडी र अफिसियलसहित करिब ९ हजार जनाको सहभागिता रहनेछ । विशेष परिस्थिति बाहेक अधिकांश खेल कर्णाली प्रदेशमै आयोजना हुने र ३२ मध्ये कम्तीमा २८ खेल कर्णालीमै सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले खेलाडी तथा अफिसियलको बसोवास सहज बनाउन प्रतियोगिताको अवधि विगतको तुलनामा लामो राखिएको बताए । उद्घाटनअघि नै केही खेल सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा समेत खेल सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै चन्दले सम्बन्धित खेल संघहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।

आइतबारै राखेप सदस्य–सचिव मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव चन्दलगायतको उपस्थितिमा स्थानीय सरोकार तथा सुरक्षा, स्वास्थ्य, बसोवास र खेलस्थलसम्बन्धी चार विषयगत उपसमितिको बैठकसमेत बसेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ