गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

नेपालगन्ज  २०८३ असोज १७ गते

विश्वव्यापी जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।

शनिबार खजुराको सितापुर गौघाटमा सम्पन्न प्रतियोगिताको ६ किलोमिटर छात्रतर्फ शुक्र माविका बिशाल बोहरा प्रथम भए । जनसेवा माविका उपेन्द्र बम दोस्रो तथा सोही विद्यालयका निशान्त विक तेस्रो भए ।

३ किलोमिटर छात्रातर्फ जनता माविकी आयुष्मा सिंह प्रथम भइन् । जनता माविकै कविता क्षेत्री दोस्रो तथा जनसेवा माविकी मेलिसा घर्ती तेस्रो भइन् ।

१२ वर्षमुनिको किड्स रन छात्रतर्फ योगिनी माविका शिव विक पहिलो, जनसेवा माविका शिशिर सुनार दोस्रो र योगिनी माविका समीर सार्की तेस्रो भए । छात्रातर्फ जनसेवा माविकी सिम्रन दमाई पहिलो, नेरा प्रावि गुराँसपुरकी वर्षा चन्द ठकुरी दोस्रो तथा योगिनी माविकी करुणा चनारा तेस्रो भइन् ।

योगिनी माविले १९२ जना सहभागी गराएपछि बेस्ट पार्टिसिपेसन अवार्ड प्राप्त गर्‍यो । शुक्र माविले सबैभन्दा पहिले ७५ जना धावक दर्ता गराएपछि फास्टेस्ट रजिस्ट्रेसन अवार्ड पायो ।

३ किलोमिटर दौड पूरा गर्ने ८५ वर्षीय शोकबहादुर खत्री र ८० वर्षीय धनबहादुर महतारालाई विशेष सम्मान गरिएको थियो । फरक क्षमता भएका सुस्त श्रवण समूहका ६ जनाले पनि दौड पूरा गरेका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय र केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

खजुरा गाउँपालिका वडा नं. २ को सहकार्यमा दौड पूरा गर्ने करिब ७ सय सहभागीलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो । सबै सहभागीलाई पदकसमेत प्रदान गरिएको थियो ।

हरेक विधाका शीर्ष १२ धावकलाई आगामी मंसिर ५ गते आयोजना हुने १२औँ धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने आयोजकले जनाएको छ । साथै, एक वर्षमा बिरुवा राम्रोसँग हुर्काउने १० जनालाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भीम ओलीले बिरुवा वितरणले विद्यार्थी, शिक्षक र अभिभावकलाई वातावरण संरक्षणमा थप उत्साहित बनाउने बताए ।

गौघाट ग्रीन रन हरेक वर्ष असोजको पहिलो साता आयोजना हुँदै आएको छ । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा आयोजना हुने प्रतियोगितामा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नं. २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन र योगिनी युवा क्लबको सहकार्य रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ