गोरखा मोडल लमहीमा दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन, खेलकुदले मानसिक स्वास्थ्य र सामाजिक सद्भाव बढाउनेमा जोड

लमही, दाङ, २०८३ असोज २५ गते।

गोरखा मोडल सेकेन्डरी स्कुल लमहीले दशैँ मिलन कार्यक्रम तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन गरेको छ। दशैँको अवसरमा आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

गोरखा मोडल सेकेन्डरी स्कुलका सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गोरखा ग्रुपका एचआर डाइरेक्टर उत्तम घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि घिमिरेले खेलकुदले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै सामाजिक सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

पछिल्लो समय समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेको सन्दर्भमा खेलकुद मानिसलाई मानसिक रूपमा स्वस्थ, सक्रिय र सकारात्मक बनाउन प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।

घिमिरेले यस्ता खेलकुद कार्यक्रमले खेलाडी तथा खेलप्रेमीलाई प्रेरणा दिनुका साथै विद्यालय, विभिन्न क्लब, सामाजिक संस्था, उद्योगी, व्यवसायी र समुदायबीच आपसी सम्बन्ध, सहकार्य तथा समन्वय स्थापित गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। खेलकुदले स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै अनुशासन, एकता, आपसी सद्भाव र सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास गोरखा ग्रुपले लिएको उहाँले बताउनुभयो।

सोही उद्देश्यअनुरूप विद्यालयले दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता आयोजना गरेको उल्लेख गर्दै उहाँले कार्यक्रम सफल बनाउन उपस्थित अतिथि, खेलाडी, खेलप्रेमी, संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण महानुभावप्रति गोरखा ग्रुप र विद्यालय परिवारका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका–७ का वडा सदस्य मानबहादुर राना, कार्यक्रमका व्यवस्थापक धनिराम गुरुङ, गोरखा मोडल सेकेन्डरी स्कुलका खेलकुद शिक्षक झलक रसाइली, गोरखा आइडियल स्कुल लालमटियाका प्राचार्य वसन्त बहादुर पुन , गोरखा आइडियल स्कुलका मावि संयोजक देवबहादुर बुढा मगर लगायतको उपस्थिति थियो।

यसैगरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्व, पूर्वखेलाडी, शिक्षक, विद्यार्थी, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने पत्रकारको तर्फबाट दशरथ घिमिरेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

गोरखा ग्रुपका एचआर डाइरेक्टर उत्तम घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गोरखा मोडल सेकेन्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले गर्नुभएको थियो।

दशैँको अवसरमा आयोजना गरिएको कार्यक्रमले खेलकुदको विकाससँगै विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाबीच आत्मीयता, भाइचारा, सहकार्य र समन्वय बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ