आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती
आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती
रामनगर, दाङ, २०८३ असोज १७ गते
दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको संयोजकमा बसन्त नेपाली चयन हुनुभएको छ। विद्यालयमा शनिबार सम्पन्न अभिभावक भेलाले नेपालीको संयोजकत्वमा आठ सदस्यीय नयाँ शिक्षक–अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिका सदस्यहरूमा हरिप्रसाद श्रेष्ठ, सरिता सुनार, कृष्णलाल गिरी, ईश्वरी भण्डारी, जयप्रकाश घर्ती, कृष्णा पोख्रेल र दुलारानी चौधरी रहनुभएको छ।
राप्ती गाउँपालिका–२ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा बोल्दै अध्यक्ष चौधरीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच आपसी समन्वय, सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
नयाँ जिम्मेवारी सम्हाल्नुभएका संयोजक नेपालीले शिक्षक–अभिभावक संघले विद्यालय र अभिभावकबीच सेतुको भूमिका निर्वाह गर्दै शैक्षिक सुधारका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘नमुना’ नाम मात्रै कि नतिजामा पनि?

आदर्श नमुना माध्यमिक विद्यालयको नाममै ‘नमुना’ जोडिएको छ। तर नमुना हुनु भनेको नाममा मात्र सीमित हुने विषय होइन। विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन, व्यवस्थापन, भौतिक अवस्था र अभिभावकको विश्वासले नै कुनै विद्यालयलाई वास्तविक अर्थमा नमुना बनाउने हो।
पछिल्ला वर्षहरूमा विद्यालयको समग्र अवस्थालाई लिएर अभिभावक तथा सरोकारवालाबीच विभिन्न चासो र प्रश्न उठिरहेका बेला नयाँ शिक्षक–अभिभावक संघको गठनलाई केवल नयाँ समिति बनेको विषयका रूपमा मात्र हेर्नुभन्दा विद्यालयलाई सुधारको बाटोमा लैजाने एउटा अवसरका रूपमा लिनुपर्ने आवश्यकता देखिन्छ।
विद्यालयभित्र रहेका समस्या एकै दिनमा समाधान हुने अवस्था पक्कै होइन। तर समस्या छन् भनेर स्वीकार्दै त्यसको पहिचान, प्राथमिकता निर्धारण र समाधानका लागि विद्यालय प्रशासन, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी र अभिभावक एउटै ठाउँमा उभिन सके ‘नमुना’ विद्यालयको स्तर जोगाउन र पुनः सुधारको दिशामा अघि बढाउन सकिने अपेक्षा गर्न सकिन्छ।
हरेक वर्ष विद्यालयको स्तर खस्किँदै गएको हो भने त्यसलाई रोक्नु पहिलो चुनौती हुनेछ। त्यसपछि स्थिरता कायम गर्दै क्रमशः उकालो लाग्ने वातावरण बनाउनु नयाँ शिक्षक–अभिभावक संघसहित विद्यालयसँग जोडिएका सबै पक्षको साझा जिम्मेवारी बन्ने देखिन्छ।
शिक्षक–अभिभावक संघ केवल बैठक बस्ने र निर्णय लेख्ने समिति नभई विद्यालयमा के भइरहेको छ भन्ने कुरा अभिभावकसम्म पुर्याउने र अभिभावकका सवाल विद्यालयसम्म पुर्याउने सक्रिय सेतु बन्न सके यसको औचित्य अझ बलियो हुनेछ।
अब परीक्षा नयाँ समितिको मात्र होइन
विद्यालयको अवस्था सुधार्न नयाँ समिति बनेसँगै सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा गर्नु पनि उचित हुँदैन। तर नयाँ नेतृत्वले विद्यालयभित्र देखिएका चुनौतीलाई खुलेर पहिचान गर्दै सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने, अभिभावकको सुझावलाई प्राथमिकतामा राख्ने र विद्यार्थीको शैक्षिक हितलाई केन्द्रमा राख्ने वातावरण बनाउन सके सुधारको सुरुवात भने हुन सक्छ।
भेलामा शिक्षक–अभिभावक संघका पूर्वसंयोजक लीलामणि पोख्रेल, विद्यालय व्यवस्थापन समिति सदस्य हेमराज भण्डारी तथा अभिभावक रञ्जना सुनामलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
शिक्षक रामकृष्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले भेलाको औचित्य तथा विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले गर्नुभएको थियो।
चौतारी न्युज डटकमको तर्फबाट नवनिर्वाचित शिक्षक–अभिभावक संघका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। अब ‘नमुना’ नामलाई व्यवहार र नतिजामै पनि नमुना बनाउने यात्रामा नयाँ समितिको भूमिका कस्तो रहन्छ, त्यो भने आगामी दिनले देखाउनेछ।



कुन कुन सुचकको लेखाजोखा गर्नु भएछ । सुचक हरु राखिदिय आभारी हुने थियौ ।।
कुन कुन सुचकको लेखाजोखा गर्नु भएछ । सुचक हरु राखिदिय आभारी हुने थियौ ।।