खुशी डंगोल कर्पोरेट टी–१० लिगको ‘फेस’ नियुक्त

बैशाष ३ काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी खुशी डंगोल कर्पोरेट टी–१० लिगको ‘फेस’ (ब्रान्ड एम्बासडर) का रूपमा नियुक्त भएकी छन्। काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन लागेको उक्त प्रतियोगिताका लागि आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस अफ कर्पोरेट टी–१०’ घोषणा गरिएको हो।

खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट यात्रा सुरु गरेकी हुन्। उनले अगस्ट २०२३ मा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन्। कुवेतविरुद्धको आफ्नो पहिलो खेलमै उनले पहिलो बलमा विकेट लिएर विश्व क्रिकेटमा चौथो तथा नेपालकी पहिलो महिला खेलाडीको रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।

यसअघि उनले सन् २०१९ को प्रधानमन्त्री कपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एक रन पनि खर्च नगरी ५ विकेट लिएकी थिइन्, जुन नेपाली महिला क्रिकेटमा महत्वपूर्ण कीर्तिमानका रूपमा लिइन्छ। हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् र निरन्तर रूपमा आफ्नो प्रदर्शन सुधार गर्दै अघि बढिरहेकी छन्।

कार्यक्रममा बोल्दै खुशी डंगोलले आफूलाई ‘फेस अफ कर्पोरेट टी–१०’ को जिम्मेवारी दिइएकोमा खुशी व्यक्त गरिन्। उनले यस्तो प्लेटफर्मले महिला खेलाडीहरूलाई थप अवसर दिने र महिला क्रिकेटलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। साथै, उनले कर्पोरेट क्षेत्रका कर्मचारीहरूलाई खेलमार्फत ताजगी र मनोरञ्जन प्राप्त गर्ने अवसर मिल्ने बताइन्।

उनले भनिन्, “कर्पोरेट टी–१० जस्ता लिगहरूले खेल र कार्यक्षेत्रबीच सन्तुलन कायम गर्न मद्दत गर्छन्। यसले कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ।” उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई शुभकामना समेत दिइन्।

उक्त कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीले खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टी–१०’ का रूपमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, “खुशीजस्तो प्रतिभाशाली खेलाडी हाम्रो लिगसँग जोडिनु गर्वको कुरा हो। उनको उपस्थितिले लिगमा नयाँ ऊर्जा, आकर्षण र प्रेरणा थप्नेछ।”

उनले आगामी दिनमा महिला तथा पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिने योजना रहेको पनि जानकारी दिए।

कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ