राप्ती गाउँपालिकाद्वारा विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनबारे सूचना जारी
लालमटिया, दाङ, बैशाष ३ । राप्ती गाउँपालिकाको कार्यालयले शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको २०८३ साल बैशाख ३ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयलाई निर्धारित कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो ।
जारी सूचनाअनुसार बैशाख ४ गतेदेखि विद्यालय, समुदाय तथा टोल–बस्ती स्तरमा शिक्षक तथा कर्मचारी परिचालन गरी विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ । साथै, विद्यालयहरूले शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण, शिक्षकको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना तयार गर्नुपर्नेछ ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयनका लागि १३ वर्षभन्दा कम उमेरका विद्यालय बाहिर रहेका बालबालिकाको विवरण संकलन गरी विद्यालयमा भर्ना गराउने र सोको विवरण गाउँपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, शैक्षिक सत्र २०८३ को नियमित कक्षा सञ्चालन बैशाख १४ गते सोमबारदेखि सुरु गर्ने निर्णय गरिएको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति व्यवस्था अनिवार्य तथा निःशुल्क शिक्षा सञ्चालन ऐन २०७५ तथा नियमावली २०७७ बमोजिम कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
उक्त सूचना गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वस बि.क.को हस्ताक्षरसहित प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।



