सामाजिक अभियानबाट सिकेको पाठ र युवाप्रतिको सन्देश
दाङ, २०८३, साउन, २१, बिहिबार,
देउखुरीका युवा सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आफ्नो २३ वर्षे जीवनयात्रा सार्वजनिक गर्दै सामाजिक अभियान, जनउत्तरदायित्व र युवाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका छन्।


गढवा गाउँपालिका–१, बनघुस्रीमा जन्मिएका भण्डारीले समाजका समस्या नजिकबाट देखेपछि सामाजिक अभियानमा सक्रिय भएको बताएका छन्। उनले हुलाकी राजमार्ग निर्माण सहजीकरण तथा पहल अभियान, राप्ती नदी बचाउ अभियान, लमही–धानखोला फोरलेन सडक संघर्ष समिति तथा सुरक्षित विद्युत् सेवा अभियान–देउखुरीलगायतका अभियानमा सहभागिता जनाउँदै आएका छन्।
उनका अनुसार सामाजिक अभियानको मूल उद्देश्य व्यक्तिगत लाभ नभई नागरिकका समस्या उजागर गर्ने, सम्बन्धित निकायलाई जिम्मेवार बनाउने, जनचेतना फैलाउने र समाधानको पहल गर्नु हो। सामाजिक जागरणका लागि निरन्तर सक्रियता, संवाद र जनसहभागिता आवश्यक रहेको उनको भनाइ छ।
युवालाई सम्बोधन गर्दै भण्डारीले सपना मात्र देखेर नहुने, त्यसलाई लक्ष्य, योजना, मेहनत र धैर्यसँग जोड्नुपर्नेमा जोड दिएका छन्। समाज परिवर्तनको सुरुवात आफ्नै समुदायबाट गर्न सकिने उल्लेख गर्दै उनले सकारात्मक सोच र निरन्तर कर्मले परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
भविष्यमा जनताले अवसर दिए सार्वजनिक जिम्मेवारीलाई सेवाको माध्यमका रूपमा स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक उत्तरदायित्वको यात्रा निरन्तर रहने बताएका छन्।





