समूह ‘एफ’ : तीन पटकको उपविजेता नेदरल्यान्ड्सको उपाधि सपना, जापानको चुनौती र स्विडेन–ट्युनिसियाको आश्चर्यको सम्भावना
देउखुरी, दाङ, जेठ २७ गते बुधबार
विश्व फुटबलको शक्तिशाली टोलीमध्ये एक मानिने नेदरल्यान्ड्स फेरि एकपटक विश्वकप उपाधिको खोजीमा मैदान उत्रँदैछ। तीन पटक फाइनल खेले पनि कहिल्यै ट्रफी उचाल्न नसकेको डच टोलीले आगामी विश्वकपमा इतिहास बदल्ने लक्ष्य राखेको छ।
जुन ११ बाट सुरु हुने विश्वकपमा नेदरल्यान्ड्स समूह ‘एफ’ मा जापान, स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ। कागजमा हेर्दा नेदरल्यान्ड्स समूहको बलियो दाबेदार देखिए पनि जापान, स्विडेन र ट्युनिसियाले कुनै पनि बेला समीकरण उल्ट्याउन सक्ने क्षमता राख्छन्।
कतार विश्वकप २०२२ मा जापानले जर्मनी र स्पेनलाई हराएर विश्व फुटबललाई चकित पारेको थियो। स्विडेनसँग युरोपेली फुटबलको अनुभव र गुणस्तरीय खेलाडीहरूको साथ छ भने ट्युनिसिया अफ्रिकी फुटबलको जोश र संघर्षशीलताको प्रतीक मानिन्छ। त्यसैले समूह ‘एफ’ यस संस्करणको सबैभन्दा प्रतिस्पर्धात्मक समूहमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
नेदरल्यान्ड्स : अधुरो सपना पूरा गर्ने अभियान
विश्व फुटबलमा ‘टोटल फुटबल’ को अवधारणा स्थापित गर्ने नेदरल्यान्ड्स सधैं उपाधि दाबेदारका रूपमा चिनिन्छ। तर उत्कृष्ट खेलाडी उत्पादन गर्दै आए पनि टोलीले विश्वकप उपाधि जित्न सकेको छैन।
सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगेको नेदरल्यान्ड्स तीनै पटक उपविजेतामै सीमित रह्यो। यही कारण डच टोलीलाई विश्वकप इतिहासकै सबैभन्दा सफल तर अभागी टोलीमध्ये एक मानिन्छ।
प्रशिक्षक रोनाल्ड कोम्यान को नेतृत्वमा यसपटक नेदरल्यान्ड्स नयाँ इतिहास लेख्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पूर्व कप्तान तथा डच फुटबलका महान खेलाडीमध्येका एक कोम्यानले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा राष्ट्रिय टोलीलाई सफलता दिलाइसकेका छन्।
टोलीमा कप्तान भर्जिल भान डाइक, कोडी गाक्पो, फ्रेन्की डी योङ, रायन ग्राभेनबर्च र टिजानी रेन्डर्सजस्ता विश्वस्तरीय खेलाडी छन्। अनुभवी र युवा प्रतिभाको सन्तुलित संयोजनले नेदरल्यान्ड्सलाई उपाधिको प्रमुख दाबेदार बनाएको छ।
जापान : एसियाली फुटबलको बढ्दो शक्ति
जापान लगातार आठौं पटक विश्वकप खेल्दैछ। एसियाली फुटबलको सबैभन्दा स्थिर र सफल राष्ट्रमध्ये एक जापानले पछिल्ला दुई विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
विश्वकप २०२६ का लागि छनोट हुने पहिलो टोली बनेको जापानले आफ्नो बलियो संरचना र अनुशासित खेलशैली पुनः प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
कतार विश्वकपमा जर्मनी र स्पेनमाथि जित निकालेपछि जापानलाई विश्व फुटबलले थप गम्भीर रूपमा लिन थालेको छ। यद्यपि टोली अहिलेसम्म अन्तिम १६ भन्दा माथि पुग्न सकेको छैन।
लिभरपुलका कप्तान वाटारु इन्डो, रियल सोसिडाडका ताकेफुसा कुबो, बायर्न म्युनिखका हिरोकी इटो तथा अन्य युरोपमा खेलिरहेका स्टार खेलाडीहरूको उपस्थितिले जापानलाई खतरनाक टोली बनाएको छ।
स्विडेन : प्लेअफबाट विश्वकपसम्म
स्विडेनको विश्वकप यात्रा सहज थिएन। युरोपेली छनोटमा संघर्षपूर्ण प्रदर्शन गरेपछि टोलीले नेशन्स लिगको आधारमा प्लेअफमा स्थान बनाएको थियो।
प्लेअफमा युक्रेन र पोल्यान्डलाई पराजित गर्दै स्विडेनले विश्वकप टिकट सुरक्षित गर्यो। प्रशिक्षक ग्राहम पटरका लागि यो उपलब्धि करियर पुनःस्थापनाको अवसरसमेत बनेको छ।
टोलीसँग युरोपकै दुई उत्कृष्ट स्ट्राइकर एलेक्जेन्डर इसाक र भिक्टर ग्योकेरेस छन्। साथै लुकास बर्गभाल, एन्थोनी इलाङ्गा र भिक्टर लिन्डेलफजस्ता खेलाडीहरूले टोलीलाई थप मजबुत बनाएका छन्।
सन् १९५८ को उपविजेता स्विडेनले १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि टोली त्यस्तै उपलब्धि दोहोर्याउने आशामा छ।
ट्युनिसिया : इतिहास बनाउने लक्ष्य
विश्वकपमा सातौं सहभागिताको तयारीमा रहेको ट्युनिसियाको प्रमुख लक्ष्य पहिलो पटक समूह चरण पार गर्नु हो।
कतार विश्वकपमा फ्रान्सलाई पराजित गरे पनि टोली नकआउट चरण पुग्न असफल भएको थियो। त्यसैले यसपटक अफ्रिकी राष्ट्र इतिहास रच्ने उद्देश्यसहित मैदानमा उत्रिनेछ।
अफ्रिका कप अफ नेशन्समा निराशाजनक प्रदर्शनपछि प्रशिक्षक परिवर्तन गरेको ट्युनिसियाले अहिले साब्री लामौचीको नेतृत्वमा नयाँ सुरुआत गरिरहेको छ।
युवा प्रतिभा खालिल अयारी, हानीबाल मेजब्री, इलिस स्क्हिरी र अली अब्दी टोलीका मुख्य आकर्षण हुन्। अनुशासित र संघर्षशील खेलशैलीका कारण ट्युनिसियाले कुनै पनि बलियो टोलीलाई दबाबमा पार्न सक्छ।
समूह ‘एफ’ को सम्भावित चित्र
कागजमा नेदरल्यान्ड्स समूह विजेताको बलियो दाबेदार देखिए पनि दोस्रो स्थानका लागि जापान, स्विडेन र ट्युनिसियाबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
जापानको हालको लय, स्विडेनको अनुभव र ट्युनिसियाको लडाकु स्वभावलाई हेर्दा समूह ‘एफ’ बाट नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो अन्तिम खेलसम्म नलाग्न पनि सक्छ।
समूह ‘एफ’ खेल तालिका (नेपाली समय अनुसार)
- नेदरल्यान्ड्स vs जापान – जुन १५, बिहान १:४५ बजे
- स्विडेन vs ट्युनिसिया – जुन १५, बिहान ७:४५ बजे
- नेदरल्यान्ड्स vs स्विडेन – जुन २०, राति १०:४५ बजे
- ट्युनिसिया vs जापान – जुन २१, बिहान ९:४५ बजे
- जापान vs स्विडेन – जुन २६, बिहान ४:४५ बजे
- ट्युनिसिया vs नेदरल्यान्ड्स – जुन २६, बिहान ४:४५ बजे


