विश्वकप समूह ‘डी’ : घरेलु दबाबमा अमेरिका, चुनौतीपूर्ण प्रतिस्पर्धामा टर्की, पाराग्वे र अस्ट्रेलिया
देउखुरी, दाङ, जेठ २४ गते आइतबार ।
सन् २०२६ फिफा विश्वकपको समूह ‘डी’ आयोजक अमेरिका लागि अवसर र चुनौती दुवैको परीक्षा बन्ने देखिएको छ। घरेलु मैदानमा विश्वकप खेल्न लागेको अमेरिकाले समूह चरणमा अस्ट्रेलिया, पाराग्वे र टर्कीको सामना गर्नेछ, जससँग उसको हालैको अनुभव रहेको छ।
गत वर्ष अमेरिका यी तीनै टोलीसँग मैत्रीपूर्ण खेलमा भिडिसकेको थियो। टर्कीसँग २–१ ले पराजित भएको अमेरिकाले अस्ट्रेलिया र पाराग्वेलाई समान २–१ को नतिजामा हराएको थियो। यस कारण समूहका सबै प्रतिद्वन्द्वी अमेरिकाका लागि परिचित छन्।
समूह ‘डी’ का खेलहरू अमेरिकाको पश्चिमी तटस्थित लस एन्जलस, सियाटल, सान फ्रान्सिस्को तथा क्यानडाको भ्यान्कोभरमा आयोजना हुनेछन्। प्रतियोगिताको यो समूह भौगोलिक रूपमा तुलनात्मक रूपमा सहज मानिए पनि प्रतिस्पर्धात्मक दृष्टिले निकै खुला देखिएको छ।
घरेलु दबाबमा अमेरिका
विश्व फुटबलको महाशक्ति बन्ने लक्ष्य राखेको अमेरिकाले घरेलु विश्वकपमा ठूलो अपेक्षा बोकेको छ। तर टोलीको सबैभन्दा कमजोर पक्ष गोलकिपिङ र सेन्ट्रल डिफेन्स मानिएको छ। युरोपेली शीर्ष लिगमा नियमित खेलिरहेका क्रिस रिचार्ड्स मात्र अनुभवी सेन्ट्रल डिफेन्डरका रूपमा रहेका छन्।
टोलीका मुख्य स्टार क्रिस्टियन पुलिसिक लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित प्रदर्शन गर्न संघर्षरत छन्। उनले सन् २०२४ यता राष्ट्रिय टोलीका लागि गोल गर्न सकेका छैनन्। यता टायलर एडम्स र सेर्जिनो डेस्टजस्ता अनुभवी खेलाडी फिटनेस समस्याबाट गुज्रिरहेका छन्।
प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा अमेरिका घरेलु विश्वकपमा नयाँ इतिहास रच्ने लक्ष्यमा छ। अमेरिकाले हालसम्म विश्वकपमा सेमिफाइनल पुग्न सकेको छैन भने सन् २००२ पछि क्वार्टरफाइनलसमेत खेलेको छैन।
पाँच संस्करणपछि फर्किएको टर्की
सन् २००२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको टर्की लगातार पाँच संस्करण विश्वकपबाट बाहिर रह्यो। तर यसपटक प्लेअफमा कोसोभोलाई हराउँदै टोली २४ वर्षपछि विश्वकपमा फर्किएको छ।
कप्तान हाकान चाल्हानोग्लु, युवा स्टार आर्दा गुलर तथा किनान यिल्डिज टर्कीका प्रमुख खेलाडी हुन्। इटालियन प्रशिक्षक भिन्सेन्जो मोन्टेलाको नेतृत्वमा टर्कीले हालैको युरोपियन च्याम्पियनसिपमा पनि प्रभावशाली प्रदर्शन गरेको थियो।
युवा र अनुभवी खेलाडीको सन्तुलन रहेको टर्की समूह ‘डी’ को ‘डार्क हर्स’ का रूपमा हेरिएको छ।
पुनरागमनको लक्ष्यमा पाराग्वे
दक्षिण अमेरिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वे सन् २०१० पछि पहिलो पटक विश्वकपमा पुगेको हो। विश्वकपमा टोलीको उत्कृष्ट उपलब्धि सन् २०१० को क्वार्टरफाइनल हो।
मिगुएल अल्मिरोन, एन्टोनियो सानाब्रिया, जुलियो इन्सिसो र डिएगो गोमेजजस्ता खेलाडीले पाराग्वेको आक्रमणलाई बलियो बनाएका छन्। प्रशिक्षक गुस्ताभो अल्फारोको आगमनपछि टोलीले उल्लेखनीय सुधार देखाएको छ।
अनुभव र युवा प्रतिभाको मिश्रण रहेको पाराग्वेले समूह चरणमा कुनै पनि टोलीलाई कठिन चुनौती दिनसक्ने क्षमता राख्छ।
कतारको लय कायम राख्न अस्ट्रेलिया
अस्ट्रेलियाले सन् २०२२ को विश्वकपमा नकआउट चरण पुगेर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। अर्जेन्टिनासँग अन्तिम १६ मा पराजित भए पनि टोलीको प्रदर्शन प्रशंसनीय थियो।
अनुभवी कप्तान तथा गोलकिपर म्याथ्यु रायन आफ्नो चौथो विश्वकप खेल्ने तयारीमा छन्। नयाँ प्रशिक्षक टोनी पोपोभिचको नेतृत्वमा अस्ट्रेलिया लगातार दोस्रो पटक नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ।
ह्यारी सटर, ज्याक्सन इर्भिन र क्रिस्टियन भोल्पाटोजस्ता खेलाडी अस्ट्रेलियाका मुख्य हतियार मानिएका छन्।
समूह ‘डी’ मा कसको सम्भावना बलियो ?
कागजमा हेर्दा आयोजक अमेरिका समूह विजेताको दाबेदार देखिए पनि टोलीमाथि घरेलु दबाब अत्यधिक रहनेछ। टर्कीको प्राविधिक क्षमता, पाराग्वेको अनुशासन र अस्ट्रेलियाको लडाकु शैलीले समूहलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका र टर्की नकआउट चरण पुग्ने सम्भावना बढी भए पनि पाराग्वे र अस्ट्रेलियालाई कमजोर आँक्न मिल्ने अवस्था छैन। समूह ‘डी’ विश्वकपको सबैभन्दा खुला र रोमाञ्चक समूहमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
समूह ‘डी’ खेल तालिका (नेपाली समयअनुसार)
- अमेरिका vs पाराग्वे — जुन १३, बिहान ६:४५ बजे, सोफी स्टेडियम, लस एन्जलस
- अस्ट्रेलिया vs टर्की — जुन १४, बिहान ९:४५ बजे, बीसी प्लेस, भ्यान्कोभर
- अमेरिका vs अस्ट्रेलिया — जुन २०, बिहान १२:४५ बजे, लुमेन फिल्ड, सियाटल
- टर्की vs पाराग्वे — जुन २०, बिहान ८:४५ बजे, लेभाइज स्टेडियम, सान फ्रान्सिस्को
- पाराग्वे vs अस्ट्रेलिया — जुन २८, बिहान ७:४५ बजे, लेभाइज स्टेडियम, सान फ्रान्सिस्को
- टर्की vs अमेरिका — जुन २८, बिहान ७:४५ बजे, सोफी स्टेडियम, लस एन्जलस


