“लालपुर्जा छ, जमिन छैन”—सुकुम्बासीको पीडा सडकमा
देउखुरी, दाङ, बैशाख २०
गढवा गाउँपालिका–१ को कालाकाटे क्षेत्रमा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले स्थानीय स्तरमै विरोध प्रदर्शन गरेका छन्।
आइतबार अपरान्ह करिब ३ बजे आयोजित कार्यक्रममा वडा नम्बर १ अन्तर्गतका धानखाला, तिनखण्डे, टहडा, धोद्रे, कालाकाटे, मलमला, बनघुस्री र बडहरा लगायतका बस्तीबाट आएका स्थानीयहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले कालाकाटे चोकबाट महेन्द्र राजमार्गसम्म नाराजुलुस निकाल्दै केहीबेर सडकमा विरोध जनाएका थिए।

स्थानीयहरूले पछिल्लो समय सरकारले काठमाडौं लगायतका विभिन्न स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूको घरटहरा हटाउन थालेपछि आफूहरूमा पनि त्रास बढेको बताएका छन्। उनीहरूले कुनै वैकल्पिक व्यवस्था नगरी डोजर प्रयोग गरेर बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सुकुम्बासी तथा भूमिहीन अव्यवस्थित जग्गा व्यवस्थापन अभियान समिति, गढवा–१ का संयोजक चित्रबहादुर महतारा क्षेत्रीले राप्ती नदीको कटानका कारण पुरानो बसोबास क्षेत्र नष्ट भई आफूहरू बाध्य भएर अन्यत्र बस्न पुगेको बताए। “लालपुर्जा भएको जमिन नै नदीले बगाइसकेको अवस्थामा अहिले हामीलाई कहाँ जाने भन्ने समस्या छ,” उनले भने।

उनले पहिरो, रोगव्याधि र आर्थिक समस्याका कारण घरबार गुमाएका परिवारहरूको अवस्था समेत जटिल रहेको उल्लेख गर्दै सरकारसँग उचित व्यवस्थापन र राहतको माग गरे।

कार्यक्रममा बडहरा क्षेत्रबाट केशरी गिरी, धानखोला क्षेत्रबाट लक्ष्मण घर्ती, चिसापानी क्षेत्रबाट पदम गिरी तथा कालाकाटेबाट माधव सापकोटाले धारणा राख्दै सुकुम्बासीहरूको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताए। वक्ताहरूले सामाजिक सञ्जालमा सुकुम्बासी र हुकुम्बासी भन्दै समाजलाई विभाजन गर्ने प्रवृत्तिको पनि विरोध गरेका थिए।

कार्यक्रमको अन्त्यमा संयोजक महताराले आवश्यक परे आन्दोलनलाई वडा, पालिका, जिल्ला हुँदै केन्द्रसम्म विस्तार गर्ने चेतावनी दिएका छन्। साथै, भोलि विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिइएको छ।


