रोटरी क्लब अफ राप्ती र राप्ती गाउँपालिकाको साझेदारीमा १८ वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

रामनगर, दाङ २०८३ असोज २१ गते


रोटरी क्लब अफ राप्तीले राप्ती गाउँपालिकासँगको साझेदारीमा सामाजिक सेवा कार्यक्रमअन्तर्गत गाउँपालिकाका वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म प्रत्येक वडाबाट दुई–दुई जना गरी १८ जना वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयरसहितका सहयोग सामग्री उपलब्ध गराउने योजना रहेको थियो।

लाभग्राहीहरूको स्वास्थ्य अवस्था र आवतजावतमा हुने कठिनाइलाई मध्यनजर गर्दै ह्विलचेयरहरू कार्यक्रमस्थलमा बोलाएर नभई सम्बन्धित व्यक्तिको घरघरमै लगेर हस्तान्तरण गरिएको थियो। यसले हिँडडुल गर्न कठिनाइ भएका तथा बिरामी अवस्थाका लाभग्राहीलाई थप सहज बनाइएको थियो ।

यसैक्रममा राप्ती गाउँपालिका–१ का विनोद थापा मगर र हसन अली तथा वडा नं. २ का कटाहा निवासी सीता चौधरी र एकतानगरका तारा बहादुर राउतलाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो। वडा नं. २ का लाभग्राहीलाई राप्ती गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापति चौधरी र रोटरी क्लबका पदाधिकारीहरूले संयुक्त रूपमा ह्विलचेयर हस्तान्तरण गरेका थिए।

एकतानगर निवासी तारा बहादुर राउत लामो समयदेखि गाउँघरमा हिँडडुल गर्न सक्ने अवस्थाको आशा गरिरहेका थिए। घरमै ह्विलचेयर पाएपछि उनी निकै खुसी भएका थिए। खुसीका कारण उनले आफ्ना भावना सहज रूपमा व्यक्त गर्नसमेत सकेनन् ।

यसैबीच, बिहानैदेखि लगातार वर्षा भइरहेका कारण राप्ती गाउँपालिकाका अन्य वडामा गरिने ह्विलचेयर वितरण कार्यक्रम भने स्थगित गरिएको थियो। मौसममा सुधार भएपछि बाँकी वडाका लाभग्राहीलाई पनि घरमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरिने जनाइएको छ।

रोटरी क्लब अफ राप्तीले उक्त सहयोग सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको र गाउँपालिकामार्फत सम्बन्धित लाभग्राहीसम्म पुर्‍याइएको हो। समुदायमा आवश्यकतामा रहेका वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।

कार्यक्रममा रोटरी क्लब अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्वाचित अध्यक्ष, क्लब सचिव, सदस्य विष्णु बेलबासे तथा क्लब एडमिन पिताम्बर रोकायलगायतको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ