भारतमा के–वान फाइट खेल्दै सुस्मिता : मुआथाइबाट प्रोफेसनल किक बक्सिङतर्फ ऐतिहासिक कदम
काठमाण्डौं, बैशाष ११ गते गण्डकी प्रदेशकी प्रतिभाशाली नेपाली खेलाडी सुस्मिता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै भारतमा आयोजना हुने प्रतिष्ठित के–वान फाइटमा प्रतिस्पर्धा गर्ने भएकी छन्। मुआथाइमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सुस्मिताले अब प्रोफेसनल किक बक्सिङमा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने तयारी गरेकी हुन्।
आगामी मे ९ मा भारतको गुजरातमा आयोजना हुने रोनिन फाइट च्याम्पियनसिप अन्तर्गत सुस्मिताले भारतीय खेलाडी आरती खत्रीसँग प्रतिस्पर्धा गर्नेछिन्। पुराना राजदरबारियाहरुको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता व्यवसायिक स्तरको उच्च प्रतिस्पर्धा मानिन्छ, जहाँ सहभागी खेलाडीहरू अन्तर्राष्ट्रिय अनुभवका साथ मैदानमा उत्रनेछन्।
यो फाइट सुस्मिताको लागि नयाँ अनुभव हुने बताइएको छ। मुआथाइमा अपराजित यात्रा कायम राखेकी सुस्मिताले पहिलो पटक किक बक्सिङ मिश्रित के–वान फाइट खेल्न लागेकी हुन्। यस प्रतियोगितामा प्रयोग हुने नियमहरू परम्परागत किक बक्सिङभन्दा फरक छन्। खेलमा चार औंलाका ग्लब्स प्रयोग गरिनेछ, जुन प्रायः युएफसी शैलीमा देखिन्छ, र प्रतिस्पर्धा ५ मिनेटका ३ राउन्डमा सञ्चालन हुनेछ।
सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार, “यो हाई लेभलको फाइट हो। सुस्मिताले अहिलेसम्म चार औंलाका ग्लब्स प्रयोग गरेकी छैनन्, त्यसैले यो उनको लागि पहिलो अनुभव हुनेछ। तर उनी सक्षम खेलाडी हुन् र राम्रो प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं।” उनले थपे, “हाम्रो लक्ष्य सुस्मितालाई अन्तर्राष्ट्रिय मुआथाइको केन्द्र थाइल्याण्डसम्म पुर्याउने हो, र यो फाइट त्यसतर्फको महत्वपूर्ण पाइला हुनेछ।”
रोनिन फाइट च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सुस्मिता यसअघि पनि भारतमा आफ्नो खेल प्रस्तुत गरिसकेकी छिन् र त्यहाँ राम्रो चर्चा कमाएकी छन्। साथै चीन, जापान र मलेसियाबाट समेत उनलाई प्रतिस्पर्धाका लागि निमन्त्रणा आएको भए पनि आर्थिक अभावका कारण सहभागी हुन नसकेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए।
सुस्मिताले नेपाल, भारत र श्रीलंकामा मुआथाइ, तेक्वान्दो लगायत विभिन्न फाइट प्रतियोगिताहरूमा सहभागिता जनाउँदै अनुभव बटुल्दै आएकी छन्। अझ महत्वपूर्ण कुरा, उनले हालसम्म मुआथाइमा कुनै पनि खेलमा हार व्यहोर्नु परेको छैन, जसले उनलाई एक आशालाग्दो खेलाडीको रूपमा स्थापित गरेको छ।
यद्यपि, उनको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा अझै विस्तार गर्न आर्थिक सहयोग अपरिहार्य देखिएको छ। पर्याप्त सहयोग प्राप्त भएमा सुस्मिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उच्च स्थान दिलाउन सक्ने विश्वास गरिएको छ।


