तीज गीतमा यसपटक रमझम होइन, बाढी–पहिरो र ग्लोबल वार्मिङको चिन्ता

वालकृष्ण थापा क्षेत्री

दाङ, भदौ १८ ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भइरहेका बेला दाङको राप्ती गाउँपालिकामा आयोजित विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगिताले मनोरञ्जनभन्दा वातावरण संरक्षण, प्राकृतिक विपद् र त्यसबाट जोगिने उपायबारे सचेतनामूलक सन्देश प्रवाह गरेको छ।

राप्ती गाउँपालिका–अन्तर्गत दुर्गाभवानी आधारभूत विद्यालय, मसुरियामा डिभिजन वन कार्यालय लमहीको आर्थिक सहयोगमा आयोजित राप्ती गाउँपालिकास्तरीय आधारभूत तह तीज गीत तथा नृत्य प्रतियोगितामा गाउँपालिकाभित्रका १० विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगिता यसअघि भदौ ११ गते आयोजना गर्ने तयारी गरिएको थियो। तर रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि देश शोक र पीडामा रहेका बेला कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।

पछि कार्यक्रमलाई विगतको जस्तो रमझम र उत्सवका रूपमा सञ्चालन नगरी प्रतियोगितामा सीमित गर्दै विद्यार्थीमार्फत वातावरण संरक्षण र विपद् सचेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्ना गीत तथा नृत्यमार्फत पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, बाढी तथा प्राकृतिक विपद्, वन्यजन्तु संरक्षण र वृक्षरोपण जस्ता विषयलाई प्रस्तुत गरेका थिए।

विद्यार्थीका प्रस्तुतिमा प्राकृतिक स्रोतको संरक्षण नगर्दा निम्तिन सक्ने जोखिम, वन विनाशका असर, रुख रोप्नुपर्ने आवश्यकता तथा वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिकालाई प्राथमिकताका साथ उठाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय लमहीका वन अधिकृत रामध्यान शाहले देश विपद्को पीडामा रहेका बेला कार्यक्रम सञ्चालन गर्दा गलत सन्देश जाने हो कि भन्ने आफूलाई लागेको बताए। तर विद्यार्थीहरूले प्रस्तुत गरेका विषयवस्तुले आफूलाई कार्यक्रमको औचित्यप्रति सकारात्मक बनाएको उनको भनाइ थियो।

उनका अनुसार विद्यार्थीहरूले वातावरण र प्राकृतिक विपद्का विषयमा गरेको प्रस्तुति हेर्दा बालबालिकाले समेत वातावरण संरक्षणको आवश्यकता बुझ्न थालेको स्पष्ट भएको छ। बालबालिकामा यति गहिरो वातावरणीय चेतना विकास गर्न सकिए भविष्यमा प्रकृति संरक्षणका लागि समाजलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सकिने उनले बताए।

“यस्तो अवस्थामा कार्यक्रम गर्दा नराम्रो सन्देश जान्छ कि भन्ने लागेको थियो,” शाहले भने, “तर विद्यार्थीहरूले जुन विषय उठाएर प्रस्तुत गरे, त्यसले वातावरण संरक्षणका लागि हामी सही दिशामा अघि बढ्न सक्छौँ भन्ने महसुस भयो।”

बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेका बेला विद्यालयस्तरबाटै वातावरण संरक्षण र विपद् सचेतनाको विषयलाई सिर्जनात्मक माध्यमबाट विद्यार्थीमाझ पुर्‍याउनु महत्वपूर्ण हुने सहभागीहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता कार्यक्रमले बालबालिकालाई मनोरञ्जनसँगै प्रकृति, वातावरण र विपद्का विषयमा सोच्न तथा समाजलाई सचेत बनाउन सहयोग पुर्‍याउँछन्।

प्रतियोगितामा गोरखा आइडियल स्कुल, लालमटिया प्रथम भएको छ। नवप्रतिभा आधारभूत विद्यालय, पाखापानी दोस्रो तथा सर्वोदय माध्यमिक विद्यालय, सिसहनियाँ तेस्रो भएका छन्। माध्यमिक विद्यालय, मौरीघाटशंकर माध्यमिक विद्यालय, पीपरीले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा सहभागी विद्यालय तथा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा डिभिजन वन कार्यालय लमहीका वन अधिकृत रामध्यान शाह प्रमुख अतिथि तथा विद्यालयका संस्थापक अध्यक्ष किरण भण्डारी, गोरखा आइडियल स्कुलका प्राचार्य वसन्तबहादुर पुन मगर, दुर्गाभवानी आधारभूत विद्यालयका प्राचार्य केशवराज आचार्य, राप्ती गाउँपालिका कार्यपालिका सदस्य चम्फा भुसाल र पूर्वप्रधानाध्यापक सूर्यप्रकाश भण्डारीलगायतको उपस्थिति थियो।

दुर्गाभवानी आधारभूत विद्यालयका प्राचार्य केशवराज आचार्यले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद भुसालले गरेका थिए।

विपद्को पीडाबीच फरक सन्देश

अहिले देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा प्राकृतिक विपद्को पीडा देखिएको अवस्थामा आयोजना गरिएको यो कार्यक्रमले एउटा फरक सन्देश दिएको छ। विपद्का बेला सबै कार्यक्रम स्थगित गर्नु मात्रै समाधान नभई विपद्को कारण, वातावरणीय असन्तुलन र जोखिम न्यूनीकरणका उपायबारे जनचेतना फैलाउने कार्यक्रमलाई उद्देश्यअनुसार सञ्चालन गर्न सकिने उदाहरण यस प्रतियोगिताले दिएको छ।

विशेषगरी बालबालिकाले नै बाढी, जलवायु परिवर्तन, वन्यजन्तु संरक्षण र वृक्षरोपणका विषयलाई गीत तथा नृत्यमार्फत उठाउनु भविष्यका पुस्तालाई वातावरण संरक्षणसँग जोड्ने महत्वपूर्ण माध्यम बन्न सक्ने देखिएको छ।

प्राकृतिक विपद्का कारण र त्यसको न्यूनीकरणबारे विद्यालय तहदेखि नै चेतना विकास गर्न सकिए समुदायमा समेत त्यसको सकारात्मक प्रभाव पुग्ने भएकाले मनोरञ्जनलाई सचेतनासँग जोड्ने यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ