डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक

काठमाडौं । २०८३ साल वैशाख ३० गते बुधबार

नेपाली कबड्डीको इतिहास, संघर्ष र सफलताको यात्रालाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग (एनकेएल) दोस्रो सिजनको तयारीअन्तर्गत आयोजित कार्यक्रममा एनकेएलको आधिकारिक एन्थम सङ पनि सार्वजनिक गरिएको हो ।

लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ का रूपमा कबड्डी खेलेको ऐतिहासिक प्रसङ्गदेखि नेपाली कबड्डीको आधुनिक यात्रासम्मलाई चित्रण गरेको छ । निर्देशक निशान शाहीद्वारा निर्माण गरिएको डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता तथा माओवादी जनयुद्धका कारण प्रतियोगिताविहीन बनेको ११ वर्षे कठिन कालखण्डलाई पनि समेटिएको छ ।

डकुमेन्ट्रीले नेपाली कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका ऐतिहासिक उपलब्धिलाई पनि विशेष रूपमा प्रस्तुत गरेको छ । ढाका, बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टोलीले जितेको ऐतिहासिक पदक, नेपालमै सम्पन्न १३ औं साग २०१९ तथा चौथो बंगबन्धु कपका उपलब्धिहरूलाई डकुमेन्ट्रीमा समावेश गरिएको छ ।

त्यस्तै, चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद २०२२ तथा छैटौं एसियन बिच गेम्स २०२६ मा नेपाली महिला टोलीले जितेका ऐतिहासिक कांस्य पदकलाई पनि प्रेरणादायी क्षणका रूपमा प्रस्तुत गरिएको छ । डकुमेन्ट्रीले माटोमा खेलिने पारम्परिक कबड्डीदेखि आधुनिक म्याटमा खेलिने व्यावसायिक कबड्डीसम्मको यात्रालाई संघर्ष, समर्पण र सफलताको कथाका रूपमा चित्रण गरेको छ ।

एक घण्टा लामो डकुमेन्ट्रीले गत वर्ष सुरु भएको नेपाल कबड्डी लिगसँगै नेपाली कबड्डीमा पुनरुत्थानको नयाँ युग प्रारम्भ भएको सन्देशसमेत दिएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत डकुमेन्ट्रीका एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, एडिटर सुमन खड्का तथा क्रिएटिभ एडिटर असिम श्रेष्ठ रहेका छन् । डकुमेन्ट्री स्क्रिनिङलगत्तै चर्चित र्यापर भियोमद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत आयोजना गरिएको थियो । पत्रकार राजु घिसिङले सहजीकरण गरेको उक्त छलफलमा एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा तथा राष्ट्रिय खेलकुद परिषद्का चिफ कोच (कबड्डी) पार्वती राई सहभागी थिए ।

नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ आगामी जेठ २२ गते (जुन ५) देखि सुरु हुँदैछ । प्रतियोगितामा देशका ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्लेयर्स ड्राफ्टमार्फत ५४ स्वदेशी र ३० विदेशी गरी कुल ८४ खेलाडी अनुबन्ध भइसकेका छन् ।

दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने प्रतियोगितामा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) तथा धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्नेछन् ।

एनकेएलको पहिलो सिजनको रोमाञ्चक फाइनलमा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन बनेको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएल सिजन–२ को ब्रोडकास्ट पार्टनरका रूपमा कान्तिपुर म्याक्स टिभी एचडीलाई भित्र्याइसकेको छ भने फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनरका रूपमा नेपहपको श्रीपेच रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ