गोरखा आइडियलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सदिक्षा गैरे प्रथम
लालमटिया, दाङ -२०८३ साउन २९ गते शुक्रबार।
गोरखा आइडियल स्कुल, लालमटियामा ‘देश विकासमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको विशेष कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका ३८ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले देश विकासमा युवाको भूमिका, जिम्मेवारी र राष्ट्र निर्माणमा युवाको योगदानका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा कक्षा ९ की सदिक्षा गैरे प्रथम, कक्षा ८ की तेजिशा न्यौपाने द्वितीय र कक्षा १० की बिज्ञ माया विश्वकर्मा तृतीय भएका छन्। यस्तै कक्षा १० का आदर्श थापा र कक्षा ६ की हर्शिका थापाले सान्त्वना स्थान हासिल गरेका छन्।



प्रतियोगिताको निर्णायकमा बसन्ता रिजाल, पुष्पा शर्मा भट्टराई र बालिका भण्डारी रहेका थिए। कार्यक्रमको सभापतित्व विद्यालयका माध्यमिक तह संयोजक देवबहादुर बुढामगरले गरेका थिए।
कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा पूजा पौडेलले गरेकी थिइन्। पौडेलले यसअघि २७औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सले राप्ती गाउँपालिका–१ पाखापानीमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गरेकी थिइन्। सोही विषयमा विद्यालयबाहिर पुरस्कार प्राप्त गरिसकेकी पौडेलले यसपटक भने प्रतियोगिताको सञ्चालिकाको भूमिका निर्वाह गरेकी हुन्।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीको प्रस्तुति सम्पन्न भएपछि उत्कृष्ट विद्यार्थीहरूलाई गोरखा आइडियल स्कुलका प्राचार्य वसन्तबहादुर पुनमगरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए। प्रथम, द्वितीय, तृतीय तथा दुई जना सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्राचार्य पुनमगरको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो।
विद्यालय परिसरमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। वक्तृत्वकलामार्फत विद्यार्थीहरूले आफ्ना विचार, तर्क र प्रस्तुति क्षमता प्रस्तुत गरेका थिए।


