एसईई २०८२ को नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

अघिल्लो वर्षभन्दा ४.१७ प्रतिशत सुधार, २९ दिनमै प्रकाशित गरियो नतिजा

काठमाडौं, वैशाख २८, २०८३ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । यस वर्ष कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा सचिव चूडामणि पौडेलले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा यसपटक ४.१७ प्रतिशतले सुधार भएको जानकारी दिए । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यस वर्षको नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको हो । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । उत्तरपुस्तिका परीक्षणलाई छिटो र व्यवस्थित बनाउन परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्था गरिएकाले समयमै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य ७ जना विद्यार्थी रहेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए ।

यसपटक देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो । जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको नतिजाले विद्यालय तहको सिकाइ उपलब्धिमा सकारात्मक संकेत देखाएको छ । शिक्षाविद्हरूले नियमित पठनपाठन, परीक्षा व्यवस्थापनमा सुधार तथा स्थानीय तह र विद्यालयको सक्रियताले नतिजामा सुधार आएको विश्लेषण गरेका छन् ।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकहरू वेबसाइट, एसएमएस तथा विभिन्न डिजिटल माध्यममार्फत आफ्नो नतिजा हेर्न व्यस्त भएका छन् । बोर्डले केही समयपछि आधिकारिक वेबसाइटमा नतिजा पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ