३०औँ जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीलाई झोला तथा खाजा वितरण
निराजन पोख्रेल
दाङ, २०८३ साउन १३, बुधबार
राप्ती गाउँपालिका–३ निवासी तथा हाल अष्ट्रेलियामा सिस्टम इन्जिनियरका रूपमा कार्यरत विशाल गिरीले आफ्नो ३०औँ जन्मदिनको अवसर पारेर सामाजिक सेवामूलक कार्य गर्दै शिवराज आधारभूत विद्यालय, शिवराज न.पा ९ धानखोलामा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा खाजा वितरण गरेका छन्।
मातृभूमि सेवा केन्द्र नेपाल संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका ३४ जना विद्यार्थीलाई विद्यालय झोला तथा १४० जना विद्यार्थीलाई खाजा वितरण गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेश्मा तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा मातृभूमि सेवा केन्द्र नेपालकी अध्यक्ष गीता गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका सचिव सिताराम गिरी तथा सदस्यहरू निलम गाहा मगर, दुर्गा पुन र पदमा मरासिनीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक हस्तबिर चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी विद्यालयका प्रधानाध्यापक सुनिल पुन, संस्थाका सचिव सिताराम गिरी तथा प्रमुख अतिथि गीता गिरीले शुभकामना मन्तव्य राख्दै शिक्षा क्षेत्रमा यस्ता सामाजिक कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए।
हाल अष्ट्रेलियामा रहेका संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका सहयोगदाता विशाल गिरीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जन्मदिनलाई समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउन पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले विशाल गिरीको योगदानको उच्च मूल्याङ्कन गर्दै दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेको थियो।कार्यक्रमको सञ्चालन विद्यालयका सूचना अधिकारी निराजन पोख्रेलले गरेका थिए।


