सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
चितवन, असोज २१ गते ।
प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता कात्तिक १३ गतेदेखि चितवनमा आयोजना हुने भएको छ।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा क्योरुगी र पुम्सेतर्फ गरी ६४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार क्योरुगीतर्फ ५४ र पुम्सेतर्फ १० स्पर्धा समावेश छन्।
प्रतियोगितामा आयोजकसहित सात प्रदेशका नौ टिम सहभागी हुने प्रतियोगिता संयोजक प्रज्ज्वल दवाडीले जानकारी दिए। नेपाली खेलाडीका लागि सहभागिता निःशुल्क गरिएको छ भने खाना र बसोवासको व्यवस्था पनि आयोजकले गर्नेछ।
विदेशी खेलाडीले भने ५० अमेरिकी डलर दर्ता शुल्क तिर्नुपर्नेछ। उक्त शुल्कमा उनीहरूको खाना र बसोवासको व्यवस्था गरिने आयोजकले जनाएको छ।
बागमती प्रदेश सरकारको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
क्योरुगी र पुम्सेतर्फ उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
तीनदिने प्रतियोगिता चितवनस्थित स्टार बैंक्वेटमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर २० तारिखसम्म नाम दर्ता गराउनुपर्नेछ।


