सामर्त ट्रेडिङद्वारा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनलाई गियर प्रायोजन

काठमाडौं असोज २१ गते ।

क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाको नेपालका लागि आधिकारिक वितरक सामर्त ट्रेडिङ प्रालिले सन् २०२६ का राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियन रोनक उप्रेती र स्वस्तिका चौधरीसँग एक वर्षका लागि गियर प्रायोजन सम्झौता गरेको छ।

नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको सहजीकरण तथा रोहवरमा सम्झौता सम्पन्न भएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा सामर्त ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत साङ्गे शेर्पा, नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल तथा सामर्त ट्रेडिङका सेल्स म्यानेजर जनक घिमिरेलगायतको उपस्थिति थियो।

सम्झौताअनुसार राष्ट्रिय च्याम्पियन रोनक र स्वस्तिकाले एक वर्षसम्म ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाका तर्फबाट क्लाइम्बिङ जुत्ता, हार्नेस, चोक ब्याग, पोसाक तथा अन्य प्राविधिक उपकरणसहितको पूर्ण गियर सेट प्राप्त गर्नेछन्।

गत जुन १३ मा काठमाडौंमा सम्पन्न राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ प्रतियोगिताका क्रममा सामर्त ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत साङ्गे शेर्पाले गरेको घोषणाअनुसार सम्झौतालाई औपचारिक रूप दिइएको हो।

राष्ट्रिय च्याम्पियनहरूको खेलस्तर अभिवृद्धि गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सफलता दिलाउनुका साथै नेपालमा स्पोट्र्स क्लाइम्बिङको विकासमा योगदान पुर्‍याउने उद्देश्यले साझेदारी गरिएको जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ