शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

बुटवल २०८३ भाद्र १६ मंगलबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् । मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेर शव व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिएका हुन् ।
अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी ३९ वटा शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । तीमध्ये एउटा शवको पहिचान भएको छ भने २० वटा शवको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि नवलपरासी पठाइएको छ । हाल अस्पतालमा १८ वटा शव रहेको जनाइएको छ ।


शव व्यवस्थापनका लागि अस्पतालमा ठाउँको अभाव भएपछि नयाँ मर्चरी निर्माण गरेर शव सुरक्षित गरिएको अस्पताल प्रशासनले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव सुरक्षाका लागि आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय यसअघि नै गरिसकेको छ । शव व्यवस्थापन तथा शव पहिचानका लागि भइरहेका प्रक्रियाको अवस्थाबारे मुख्यमन्त्री आचार्यले स्थलगत अनुगमन सुरु गरेका हुन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले शवको पहिचान तथा व्यवस्थापनको काम संवेदनशीलताका साथ छिटो सम्पन्न गर्न अस्पताल प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् । परिवारजनले आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउने र शव पहिचान भएपछि सहज रूपमा बुझ्न सक्ने वातावरण बनाउन प्रदेश सरकारले आवश्यक सहजिकरण गर्दैआएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ