विश्वकप उद्घाटन समारोह : को–को गर्दैछन् प्रस्तुति, कहिले सुरु हुन्छ र कसरी हेर्ने ?

देउखुरी, दाङ,  जेठ २७ गते बुधबार l विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासकै सबैभन्दा ठूलो विश्वकप यसपटक नयाँ स्वरूपमा आयोजना हुँदैछ, जहाँ पहिलोपटक तीन राष्ट्र—अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्।

४८ टोली, १०४ खेल र १६ आयोजक सहरसहितको विश्वकप जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा सम्पन्न हुनेछ। प्रतियोगिताको सुरुआत तीनवटै आयोजक राष्ट्रमा आयोजना हुने विशेष उद्घाटन समारोहमार्फत गरिने भएको छ।

तीन देश, तीन समारोह, एउटै सन्देश

अघिल्ला संस्करणहरूमा झैं उद्घाटन समारोह एउटै सहरमा सीमित रहने छैन। यसपटक मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा क्रमिक रूपमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणामा आधारित हुनेछन्।

प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार पारिएका कार्यक्रमहरूले फुटबलमार्फत विश्वलाई एकताको सन्देश दिने लक्ष्य राखेका छन्। यद्यपि प्रत्येक आयोजक राष्ट्रले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछ।

मेक्सिकोले परम्परागत ‘पापेल पिकाडो’ कला र सांस्कृतिक विरासतलाई प्राथमिकता दिनेछ। क्यानाडाले बहुसांस्कृतिक समाज र विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ भने अमेरिकाले अत्याधुनिक प्रविधि, भिजुअल इफेक्ट्स र विश्व मनोरञ्जन उद्योगमा आफ्नो प्रभावलाई केन्द्रमा राख्नेछ।

मेक्सिको सिटीबाट विश्वकपको औपचारिक सुरुआत

विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा आयोजना हुनेछ। प्रतियोगिताको पहिलो खेलअघि हुने कार्यक्रममा मेक्सिकन संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई विश्वसामु प्रस्तुत गरिनेछ।

आदिवासी समुदायका कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण रहनेछन्। साथै अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी संगीतका चर्चित कलाकारहरूले पनि रंगीन प्रस्तुति दिने अपेक्षा गरिएको छ।

शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र माना जस्ता कलाकारहरू समारोहमा सहभागी हुन सक्ने चर्चा छ।

उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

नेपाली समयअनुसार

  • उद्घाटन समारोह : राति ८:४५ बजे
  • मेक्सिको बनाम दक्षिण अफ्रिका : राति १२:४५ बजे

टोरन्टोमा क्यानडाको ऐतिहासिक उत्सव

जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ। पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्न लागेको कारण यो क्यानडाका लागि विशेष अवसर बनेको छ।

‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ शीर्षकमा आधारित प्रस्तुतिले क्यानडाको पूर्वदेखि पश्चिम र उत्तरसम्मको सांस्कृतिक यात्रालाई चित्रण गर्नेछ। देशको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय तथा राष्ट्रिय पहिचानलाई संगीत, नृत्य र दृश्य माध्यमबाट प्रस्तुत गरिनेछ।

अलानिस मोरिसेट, अलेसिया कारा, माइकल बब्ले, जेसी रेयेज, नोरा फतेही, एलियाना सन्जोय, वेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ।

समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध विश्वकप अभियान सुरु गर्नेछ।

नेपाली समयअनुसार

  • उद्घाटन समारोह : राति ११:१५ बजे
  • क्यानाडा बनाम बोस्निया एन्ड हर्जेगोभिना : राति १२:४५ बजे

लस एन्जलसमा अमेरिकी शैलीको भव्य कार्यक्रम

अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ। मनोरञ्जनको विश्व केन्द्र मानिने शहरमा हुने यो कार्यक्रम प्रविधि, संगीत र दृश्य प्रभावको अनुपम संयोजन हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन उद्योगमा रहेको प्रभावलाई झल्काउनेछ।

कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिन सक्ने सम्भावना रहेको छ।

समारोहपछि आयोजक अमेरिका पाराग्वेविरुद्ध मैदान उत्रिनेछ।

नेपाली समयअनुसार

  • उद्घाटन समारोह : बिहान ५:१५ बजे
  • अमेरिका बनाम पाराग्वे : बिहान ६:४५ बजे

नेपालमा कसरी हेर्ने ?

नेपालमा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स च्यानलमार्फत हुनेछ। डिजिटल प्लेटफर्ममा भने डीगो एपमार्फत सबै खेलहरूको प्रत्यक्ष प्रसारण उपलब्ध हुनेछ।

फिफाले नेपालका लागि विशेष प्रसारण अधिकार प्रदान गरेका कारण विदेशी टेलिभिजन च्यानल तथा अन्तर्राष्ट्रिय स्ट्रिमिङ सेवाहरूले नेपालभित्र प्रत्यक्ष प्रसारण गर्न पाउने छैनन्।

दर्शकहरूले शुल्क तिरेर विश्वकपका सबै १०४ खेल प्रत्यक्ष हेर्न सक्नेछन्।

प्याकेज शुल्क

  • टिभी प्याकेज : करसहित रु ९९९
  • मोबाइल प्याकेज : करसहित रु ५४९
  • मोबाइल र ल्यापटप दुवैका लागि : करसहित रु ९९९

विश्व फुटबलको नयाँ युग

४८ टोली सहभागी विश्वकपको यो पहिलो संस्करण केवल फुटबल प्रतियोगिता मात्र होइन, तीन राष्ट्रको संयुक्त सांस्कृतिक उत्सव पनि हो। मेक्सिकोको परम्परा, क्यानडाको विविधता र अमेरिकाको आधुनिकताको मिश्रणसँगै विश्वकप २०२६ ले विश्व फुटबलको नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ।

अब विश्वभरका करोडौं समर्थकको ध्यान उद्घाटन समारोह र पहिलो खेलतर्फ केन्द्रित छ, जहाँबाट अर्को एक महिनासम्म चल्ने फुटबल महाकुम्भको औपचारिक यात्रा सुरु हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ