लालमटिया–कटाहा सडक जीर्ण बन्दै, मर्मतमा स्थानीयको ध्यानाकर्षण
बालकृष्ण थापा क्षेत्री
रामनगर, असोज १० गते ।
राप्ती गाउँपालिका–२ लालमटिया चोकदेखि दक्षिणतर्फ कटाहा जाने पक्की सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सडकका विभिन्न स्थानमा पिच उप्किएर खाल्डाखुल्डी पर्न थालेपछि यसबाट आवतजावत गर्ने विद्यार्थी, पैदलयात्री, स्थानीय बासिन्दा तथा सवारी चालकहरू समस्यामा परेका छन्।
सडकमा देखिएका सामान्य क्षतिलाई समयमै मर्मत गरी टालटुल गर्न सके सडक थप बिग्रनबाट जोगाउन सकिने स्थानीयको भनाइ छ। तर अहिले नै मर्मतमा ध्यान नदिए सडक पूर्णरूपमा जीर्ण भएर पुनःनिर्माण गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ।
वर्षायाममा सडकमा पानी जम्ने र सवारीसाधन आवतजावत गर्दा पैदलयात्री तथा विद्यार्थीलाई हिँडडुल गर्न समस्या हुने गरेको छ। त्यस्तै, घाम लागेको समयमा सडकबाट धुलो उड्दा स्थानीय तथा सवारी चालकसमेत प्रभावित हुने गरेका छन्।
स्थानीयका अनुसार कटाहा क्षेत्रतर्फ जाने सडकको स्तरवृद्धि तथा सुधारका लागि लामो समयदेखि अपेक्षा गरिँदै आएको छ। पक्की सडक निर्माण भएको स्थानसमेत समयमै मर्मत नहुँदा बिग्रिँदै जान थालेकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।
यस्तै, वडा नम्बर २ का जनप्रतिनिधिहरूको नियमित आवतजावत हुने सडक भएकाले वडा कार्यालय तथा गाउँपालिकाले समन्वय गरी सडक संरक्षण र मर्मतमा पहल गर्नुपर्ने स्थानीयको अपेक्षा छ।
स्थानीयले सडक पूर्णरूपमा बिग्रिएपछि ठूलो बजेट खर्च गरेर पुनःनिर्माण गर्नुभन्दा अहिले नै सामान्य क्षति भएका ठाउँमा मर्मत तथा संरक्षण गर्न सके सडकलाई दीर्घकालीन रूपमा जोगाउन सकिने बताएका छन्।


