लालमटियामा प्रथम युएलएफसी कप फुटबल सुरु, उद्घाटन खेलमा भालुवाङको रोमाञ्चक जित
रामनगर, २ असोज ।
दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित टुडिखेलमा प्रथम युएलएफसी कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। युनाइटेड लालमटिया युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ।

शुक्रबार भएको उद्घाटन खेलमा फुटबल क्लब भालुवाङले युएनबिसी घोराहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित खेल अवधिमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो।
पेनाल्टी सुटआउटमा भालुवाङले पाँच गोल गर्दा युएनबिसी घोराहीले तीन गोल मात्र गर्न सक्यो। भालुवाङका गोलरक्षकले एक पेनाल्टी बचाए भने युएनबिसीको अर्को प्रहार बारमा लागेर बाहिरिएपछि भालुवाङले जित सुनिश्चित गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका भालुवाङका गोलरक्षकलाई बेस्ट प्लेयर घोषित गरिएको थियो।

यसअघि प्रतियोगिताको उद्घाटन राप्ती गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापति चौधरीले गर्नुभएको थियो। क्लबका अध्यक्ष पूर्णबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा चौधरीले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले खेलकुदले युवालाई सकारात्मक गतिविधिसँग जोड्नुका साथै शारीरिक तथा मानसिक विकास, अनुशासन र सहकार्यको भावना विकास गर्ने बताउनुभयो। खेलाडीले उत्कृष्ट प्रदर्शनसँगै अनुशासनलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका–२ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पहलवान चौधरी, वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी, थ्रि आर्टस प्रालिका म्यानेजिङ डाइरेक्टर शिशिर ज्ञवाली, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, गोरखा आइडियल स्कुलका प्राचार्य बसन्तबहादुर पुन मगरलगायतले प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो।
त्यस्तै कालिका सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष यमबहादुर रोका, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने, अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवर मगरलगायतको उपस्थिति रहेको थियो।

क्लबका सहसचिव भुवन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव अनिल पौडेलले गर्नुभएको थियो।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। खुला नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ।
व्यक्तिगत विधातर्फ बेस्ट प्लेयरलाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी, हाई स्कोरर र बेस्ट किपरलाई जनही २ हजार रुपैयाँसहित ट्रफी तथा राइजिङ प्लेयरलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो २ बजे जुराउनी फुटबल क्लब र गौतम बुद्ध फुटबल क्लबबीच तथा दोस्रो खेल अपराह्न ४ बजे लालमटिया युवा क्लब र हर्षेडाँडा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।






