राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठद्वारा पदबहाली
देउखुरी, दाङ, जेठ २९ गते शुक्रबार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले पदबहाली गर्नु भएको छ। नेपाल सरकारले बुधबार उहाँलाई परिषद्को उपाध्यक्ष पदमा नियुक्त गरेको थियो।

पदबहाली समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले आफू खेल मैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएको उल्लेख गर्दै खेलकुद क्षेत्रको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो। उहाँले खेलाडी, प्रशिक्षक, खेल संघ, खेल प्रशासन तथा सरोकारवाला निकायसँग समन्वय गर्दै खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भयो।
उहाँले खेलकुदको विकास केवल पूर्वाधार निर्माण वा प्रतियोगिता सञ्चालनमा मात्र सीमित नरहने भन्दै खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण प्रणालीको सुधार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति सशक्त बनाउने तथा खेल प्रशासनलाई प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिने बताउनु भयो। उपाध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै परिषद्को नेतृत्व टोलीसँग मिलेर परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउनु भयो।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका नयाँ सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई परिषद्ले स्वागत गरेको छ। स्वागत कार्यक्रममा परिषद्का सदस्य–सचिव रामचरित्र मेहता ले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै परिषद्को वर्तमान अवस्था, सञ्चालन भइरहेका कार्यक्रम तथा आगामी योजनाका बारेमा जानकारी गराउनु भयो।

सदस्य–सचिव मेहताले नेपाली खेलकुद क्षेत्रले पछिल्ला वर्षहरूमा विभिन्न उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा खेल प्रशासनलाई थप सुदृढ बनाउँदै खेलाडी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनु भयो। उहाँले नवनियुक्त पदाधिकारीहरूको अनुभव र सक्रियताले परिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत खेलकुद क्षेत्र हेर्ने प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार को उपस्थिति रहेको थियो। साथै परिषद्का विभिन्न विभागीय तथा शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो।
नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूको आगमनसँगै राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद क्षेत्रको विकास, पूर्वाधार विस्तार, खेलाडी कल्याण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ। खेलकुद क्षेत्रका सरोकारवालाहरूले समेत नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तन र दीर्घकालीन योजनाको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् नेपालको खेलकुद प्रशासनको प्रमुख निकायका रूपमा कार्यरत रहेको छ। परिषद्ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी, खेल पूर्वाधार विकास, खेलाडी प्रशिक्षण तथा खेलकुद नीतिको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नवनियुक्त नेतृत्वले परिषद्को कार्यक्षमता थप मजबुत बनाउँदै नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


