राप्तीमा कार्यालय सहयोगी तथा सवारी चालकलाई शिष्टाचार तालिम
तुलबहादुर कवँर मगर
मसुरिया, २८ जेठ।
दाङको राप्ती गाउँपालिकाले कार्यालय सहयोगी तथा सवारी चालकहरूका लागि तीन दिने शिष्टाचार तथा कुशल सेवा प्रवाह सम्बन्धी तालिम सुरु गरेको छ।



सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी र सवारी चालकहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको व्यवहार, अनुशासन र सेवाप्रतिको प्रतिबद्धताले संस्थाको छवि निर्माण गर्ने बताउनुभयो। उहाँले सेवाग्राहीलाई सम्मानजनक, सहज र छिटो सेवा प्रदान गर्न सबै कर्मचारीले सकारात्मक सोच र जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सबै कर्मचारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीहरूको शिष्ट व्यवहार र कार्यकुशलताले सेवा प्रवाहको गुणस्तर निर्धारण गर्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई दैनिक कार्यसम्पादनमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
सुशासन विज्ञ डा. मणिराम बन्जाडेले सहजीकरण गरिरहेको तालिममा शिष्टाचार, सेवामुखी व्यवहार, व्यावसायिकता, समानुभूति तथा प्रभावकारी सेवा प्रवाहका विषयमा प्रशिक्षण दिइने जनाइएको छ।
गाउँपालिकाका अनुसार तालिमबाट सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै सार्वजनिक सेवाप्रति सकारात्मक सोच र सेवामुखी संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।


