युवराज राना एसियाली खेलकुदका लागि छनोट
देउखुरी, दाङ, जेठ ३० गते शनिबार ।
नेपाली तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार युवराजले पुरुष एकल पुम्सेको यू–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गर्दै एसियाडमा स्थान सुरक्षित गरेका हुन् ।
यसअघि क्योरोगी विधातर्फ पुरुष ८० केजीमुनि तौल समूहका खेलाडी अभिषेक बराल पनि एसियाली खेलकुदका लागि छनोट भइसकेका छन् ।
युवराजको छनोटसँगै आगामी एसियाडमा नेपालको तेक्वान्दो सहभागिता थप बलियो बनेको छ । नेपाल तेक्वान्दो संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेलाडीको तयारीलाई तीव्र बनाउने जनाएको छ ।


