मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान
काठमाडौं, असोज ८ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य तथा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट सम्मानित भएकी छन् ।
उज्वेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाड २०२६ तथा फिडे कंग्रेसको अवसरमा हिजो (बुधबार) खम्बूलाई महिला बुद्धिचालको विश्वव्यापी प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी खम्बूले बंगलादेशमा रहेका रोहिंग्या शरणार्थी बालबालिका तथा प्रशिक्षकलाई चेस प्रशिक्षण दिँदै आएकी छन् । उनले नेपालमा अटिजम भएका बालबालिका, सामुदायिक विद्यालय तथा महिलाका लागि विशेष चेस प्रशिक्षणसमेत सञ्चालन गर्दै आएकी छन् ।
नेपाल बुद्धिचाल महासंघकी पूर्व उपमहासचिवसमेत रहेकी खम्बूले अर्थशास्त्र तथा लैंगिक समानतामा स्नातकोत्तर गरेकी छन् । उनी महिला सशक्तीकरणका क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन् ।
खम्बू नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन तथा पहिलो महिला इन्टरनेसनल आर्बिटर (आईए) हुन् । उनले एसियन गेम्समा दुईपटक, इन्डोर एसियन गेम्समा तीनपटक तथा चेस ओलम्पियाडमा तीनपटक नेपालको प्रतिनिधित्व गरेकी छन् ।
उनले १६ वर्षअघि कायम गरेको १ हजार ८ सय ७७ फिडे रेटिङको रेकर्डसमेत हालसम्म कायम रहेको छ । चेस व्यवस्थापनमा एक दशकदेखि सक्रिय खम्बूले फिडे इन्स्ट्रक्टर (एफआई) र वुमेन्स क्यान्डिडेट मास्टर (डब्लुसीएम) को उपाधिसमेत हासिल गरेकी छन् ।
समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडमा नेपालको पुरुष र महिला टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । फिडे कंग्रेसमार्फत महासंघले नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।



