भोटेकोसी बाढीपीडितका लागि गोरखा ग्रुप दाङको १० लाख रुपैयाँभन्दा बढी सहयोग

दाङ, भदौ १५ ।

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला गोरखा ग्रुप, दाङले पनि बाढीपीडितका लागि १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग गरेको छ।

गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालनमा रहेका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ग्रुपले जनाएको छ।

सरकारले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न सर्वसाधारण, संघसंस्था तथा निजी क्षेत्रलाई आह्वान गरेपछि गोरखा ग्रुपअन्तर्गतका विभिन्न संस्थाबाट सहयोग रकम संकलन गरिएको हो।

ग्रुपका अनुसार हिमालयन बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा कुल १० लाख १ हजार १ सय ४७ रुपैयाँ जम्मा गरिएको छ।

यस्तो छ सहयोग रकमको विवरण

गोरखा ग्रुपका विभिन्न संस्था तथा तिनमा कार्यरत शिक्षक–कर्मचारीबाट संकलित रकममध्ये गोरखा स्कुल, घोराहीबाट २ लाख ५३ हजार, गोरखा स्कुल, तुलसीपुरबाट २ लाख ३१ हजार ४ सय ४५ र गोरखा स्कुल, लमहीबाट १ लाख ५६ हजार रुपैयाँ सहयोग गरिएको छ।

त्यस्तै, गोरखा आइडियल स्कुल, लालमटियाबाट ७९ हजार, गोरखा रेसिडेन्टल स्कुल, तुलसीपुरबाट ४५ हजार १ सय ३३, भिक्टोरिया कलेज, तुलसीपुरबाट ५० हजार र स्वर्णिम देउखुरी कलेज, देउखुरीबाट ३५ हजार रुपैयाँ सहयोग गरिएको छ।

यसैगरी गोरखा पब्लिक हस्पिटल, दाङले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको ग्रुपले जनाएको छ।

यसअघि गोरखा आइडियल स्कुल, लालमटियाका शिक्षक तथा कर्मचारीले भोटेकोसी बाढीपीडितका लागि छुट्टै रूपमा भदौ ११ गते १६ हजार २ सय १५ रुपैयाँ सहयोग रकम जम्मा गरेका थिए।

भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आगामी पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गोरखा ग्रुपले जनाएको छ।

विपद्का बेला राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक समाजको समेत सहभागिता आवश्यक हुने भन्दै गोरखा ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ