पाँचौँ दिन लुम्बिनी फुटबल र युनाइटेड लालमटिया विजयी
बालकृष्ण थापा क्षेत्री
रामनगर, २०८३ असोज ६ गते ।
प्रथम खुला फुटबल प्रतियोगिताको पाँचौँ दिन पनि दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। पाँचौँ दिनको पहिलो खेलमा लुम्बिनी फुटबल क्लब र लमही फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै २–१ गोलको जित निकालेको हो।

लुम्बिनीले खेलमा दुई गोल गर्न सफल भयो भने लमही फुटबल क्लबले एक गोल फर्काएको थियो। एक गोलले पछि परेको लमहीले खेलमा फर्किने प्रयास गरे पनि हारबाट जोगिन सकेन।

खेलपछि सहभागी क्लबलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका विदेशी खेलाडीलाई म्यान अफ द म्याचको सम्मान प्रदान गरिएको थियो।

यसैगरी, पाँचौँ दिनको दोस्रो खेलमा युनाइटेड लालमटिया युथ क्लब निलो र खुरुरिया फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलको सुरुदेखि नै आक्रामक देखिएको युनाइटेड लालमटिया निलोले पहिलो हाफमै ३ गोल गर्दै आफ्नो दबदबा कायम गरेको थियो।
दोस्रो हाफमा पनि युनाइटेड लालमटियाको गोल गर्ने क्रम रोकिएन। टोलीले थप ४ गोल गर्दै आफ्नो गोलसंख्या ७ पुर्यायो। खुरुरिया फुटबल क्लबले एक गोल फर्काउन सफल भए पनि ठूलो अन्तरको हारबाट जोगिन सकेन। खेल ७–१ गोलमा युनाइटेड लालमटिया निलोको पक्षमा समाप्त भयो।


खेलपछि दुवै क्लबलाई मायाको चिनो प्रदान गरिएको थियो। दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ३ गोल गरेका युनाइटेड लालमटिया निलोका विदेशी खेलाडी एनीसेड इडियालाई म्यान अफ द म्याच घोषित गरिएको थियो।
पाँचौँ दिनका खेलमा लुम्बिनी फुटबल क्लब र युनाइटेड लालमटिया युथ क्लब निलोले जित निकाल्दै प्रतियोगिताको आगामी चरणमा आफ्नो स्थान बलियो बनाएका छन्।



