पदक विजेता टेबलटेनिस खेलाडी बैंकक प्रस्थान

काठमाडौं, साउन ४ – सातौं इटीटी टेबलटेनिस प्रतियोगिता तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता चार नेपाली खेलाडी सोमबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन्।

इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहले घोषणा गरेको पाँचदिने बैंकक भ्रमण कार्यक्रमअन्तर्गत इटीटी टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेका महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थकु तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका रजत विजेता एलेक्स महर्जन बैंकक गएका हुन्।

इटीटीले यसअघि इटीटी प्रतियोगिताको स्वर्ण विजेता टोलीका सदस्य तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका स्वर्ण र रजत पदक विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ उपलब्ध गराउने घोषणा गरेको थियो। सोही प्रतिबद्धताअनुसार विजेता खेलाडीलाई भ्रमणको अवसर प्रदान गरिएको हो।

४२औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संजोग कपाली भने २०औं एसियाली खेलकुदको तयारीका लागि दक्षिण कोरियाको सिओलमा वैदेशिक प्रशिक्षणमा रहेकाले उनी भ्रमणमा सहभागी हुन सकेनन्। त्यसैले रजत विजेता एलेक्स महर्जनले बैंकक भ्रमणको अवसर पाएका हुन्।

खेलाडीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटीटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जन लगायतले बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा अध्यक्ष खड्गीले खेलाडीहरूले व्यस्त प्रतियोगितात्मक जीवनबाट केही समय छुट्टै वातावरणमा बिताउने अवसर पाएकाले यो भ्रमण उनीहरूको मनोबल बढाउन तथा आगामी प्रतियोगिताका लागि थप ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ