नेपालका आठ विद्यालयमा ६० इजरायली स्वयंसेवकको शैक्षिक तथा पुनर्निर्माण कार्यक्रम सम्पन्न
काठमाडौं, २०८३ असोज २३ गते।
इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ (Heroes for Life) का ६० जना स्वयंसेवकले नेपालका काठमाडौं र ललितपुरस्थित आठ सरकारी तथा सार्वजनिक विद्यालयमा सञ्चालन गरेको स्वयंसेवा कार्यक्रम सम्पन्न गरेका छन्।
शुक्रबार (९ अक्टोबर २०२६) जारी प्रेस विज्ञप्तिअनुसार स्वयंसेवकहरूले विद्यार्थीलाई सिर्जनात्मक तथा रमाइला सिकाइ गतिविधिमा सहभागी गराउनुका साथै विद्यालयको मर्मतसम्भार, रङरोगन र भित्तामा कलात्मक चित्र बनाउने काम गरेका थिए। विद्यार्थीलाई नयाँ तरिकाले सोच्न र सिकाइप्रति रुचि बढाउन प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रममा स्वयंसेवकहरू दुई समूहमा नेपाल आएका थिए। पहिलो समूहले सेप्टेम्बर ४ देखि १७ सम्म र दोस्रो समूहले सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म स्वयंसेवा गरेका थिए।
कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा प्रभात माध्यमिक विद्यालय, हिन्दु विद्यापीठ, शान्ति शिक्षा मन्दिर, कितिनी उच्च माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, श्री नारायण जन माध्यमिक विद्यालय, पञ्चायन सेलेस्टियल स्कुल र श्री नन्दी रात्रि माध्यमिक विद्यालय रहेका छन्।
स्वयंसेवकहरूको योगदानको सम्मानमा नेपालस्थित इजरायली दूतावासकी कार्यवाहक प्रमुख जनान बेबारले बिदाइ समारोह आयोजना गरेकी थिइन्। समारोहमा उनले स्थानीय समुदायलाई सहयोग पुर्याउन स्वयंसेवकहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गरिन्।
उनले इजरायली संस्कृतिमा दृढता र समाजलाई योगदान गर्ने भावना महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नेपालमा गरिएको स्वयंसेवाले विद्यालय तथा स्थानीय समुदायमा सकारात्मक योगदान पुर्याउनुका साथै नेपाल र इजरायलबीचको मित्रतालाई थप बलियो बनाएको बताइन्।
विद्यालयमा कार्यक्रम सञ्चालन गर्नुका अतिरिक्त स्वयंसेवकहरूले डाउन सिन्ड्रोम सोसाइटी नेपालसँग पनि दुई दिन बिताएका थिए। उनीहरूले संस्थाको हेरचाहमा रहेका बालबालिकासँग अन्तरक्रिया गर्नुका साथै संस्थाको परिसरमा रङरोगन र मर्मतसम्भारका काममा सहयोग गरेका थिए।
‘हिरोज फर लाइफ’ ले नेपालमा सन् २०१७ देखि स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रत्येक वर्ष नयाँ स्वयंसेवक समूहसहित अघिल्ला विद्यालयमा पुनः कार्यक्रम सञ्चालन गर्नुका साथै नयाँ विद्यालयलाई पनि समेट्दै आएको विज्ञप्तिमा उल्लेख छ। नेपालस्थित इजरायली दूतावाससँगको समन्वयमा कार्यक्रम विस्तार भइरहेको जनाइएको छ।
संस्था विश्वका १८ देशमा सक्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।


