देउखुरीको गोपीनालामा भारतीय कार दुर्घटना, चालकसहित चार जना घाइते

भालुवाङ, १७ साउन — दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–४ गोपीनालामा आइतबार दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकसहित चार जना भारतीय नागरिक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दिउँसो करिब १:१० बजे भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच फिट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा सोही स्थानका ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते चारै जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचारका लागि पठाइएको छ, जहाँ उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। स्थानीयका अनुसार उक्त सडकखण्डमा तीव्र गति र चालकको असावधानीका कारण बेला–बेलामा सवारी दुर्घटना हुने गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ