त्रिनेत्र र द फोर एलिमेन्ट्स बने राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियन

काठमाडौं २०८३ असार २७ गते, शनिबार

तेस्रो संस्करणको राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइल (PUBG Mobile) तर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन्। ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा दुवै विजेता टोलीले उपाधिसहित समान ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको ई–फुटबल विधामा रजत बुढाथोकी उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बने। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उनले बिकुल रानालाई पराजित गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेका हुन्।

विजेता खेलाडी तथा टोलीलाई आयोजित विशेष समारोहमा रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, ईशानका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, बोर्ड सदस्य मौषमी लामासिजन भट्टराई लगायतले ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताका संयोजक प्रकाश घर्तीका अनुसार प्रतियोगिता जेठ १८ गतेबाट सुरु भएको थियो। प्रारम्भिक चरणका प्रतिस्पर्धापछि फाइनल चरणका खेलहरू असार ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको थियो, जहाँ देशभरका उत्कृष्ट ई–स्पोर्ट्स टोली तथा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

यस वर्षको प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्सप्रतिको बढ्दो आकर्षण र प्रतिस्पर्धात्मक स्तरलाई थप उजागर गरेको आयोजकको भनाइ छ। आधुनिक डिजिटल खेलप्रतिको युवापुस्ताको उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विधामा उच्चस्तरीय प्रतिस्पर्धा देखिएको थियो।

प्रतियोगिताको सफल आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद, बागमती प्रदेश खेलकुद परिषद, एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स लगायत विभिन्न सरकारी तथा निजी संघ–संस्थाले सहयोग गरेका थिए।

आयोजक ई–स्पोर्ट्स संघ नेपालले आगामी संस्करणलाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका रूपमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नेपालमा ई–स्पोर्ट्सको लोकप्रियता निरन्तर बढ्दै गएको अवस्थामा यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादन गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ