ढोरपाटनमा हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण सुरु, खेल पर्यटन प्रवर्द्धनमा जोड

बाग्लुङ, बैशाष ११ गते । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन क्षेत्रमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ। नेपाल हाप्किडो संघको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा सञ्चालन भएको कार्यक्रम खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।


कार्यक्रममा देशका सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले राष्ट्रिय स्तरमा हाप्किडो खेलको विस्तारमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।


उद्घाटन समारोहमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले खेलकुद र पर्यटनलाई सँगसँगै अगाडि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले ढोरपाटन क्षेत्र खेलकुद गतिविधिका लागि समेत उपयुक्त गन्तव्य बन्न सक्ने धारणा राखिन्।


नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडोको अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि यस्ता प्रशिक्षण तथा प्रतियोगिताहरू महत्वपूर्ण हुने बताए। कार्यक्रममा विभिन्न खेल पदाधिकारी तथा प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष खरमाया बिटालुले गरेकी थिइन्।


आयोजकका अनुसार, उच्च हिमाली क्षेत्रमा सञ्चालन गरिएको यस प्रशिक्षणले खेलाडीहरूको शारीरिक क्षमता, सहनशीलता तथा सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, खेलकुदमार्फत ढोरपाटन क्षेत्रको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ