छैठौं दिन युनाइटेड लालमटिया सेतो र बसन्तपुर फुटबल क्लबको सानदार जित
बालकृष्ण थापा क्षेत्री
रामनगर, २०८३ असोज ७ गते ।
प्रथम खुला फुटबल प्रतियोगिताको छैठौं दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। छैठौं दिनको खेलमा बसन्तपुर फुटबल क्लब र युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’ विजयी भएका छन्।
प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बसन्तपुर फुटबल क्लबले वनगाई फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २९औँ मिनेटमा बसन्तपुरका १० नम्बर खेलाडी सागर थारु कुमालले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलमा वनगाई फुटबल क्लबले बराबरी गोल फर्काउन पटक–पटक आक्रमण गरे पनि गोल गर्न नसक्दा बसन्तपुरले १–० को जित निकाल्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ। उत्कृष्ट प्रदर्शन गरेका बसन्तपुरका सागर थारु कुमाललाई ‘म्यान अफ द म्याच’ घोषित गर्दै सम्मान गरिएको थियो।

त्यस्तै, छैठौं दिनको दोस्रो खेलमा युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’ र लुम्बिनी फुटबल क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि थप गोल हुन सकेन।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’ले ५–४ गोलअन्तरले लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा शानदार जित हात पारेको हो।

उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’का गोलरक्षकलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो।
छैठौं दिनका खेलसँगै प्रतियोगितामा प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ। आगामी खेलहरूमा पनि टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।








