कुलपानी सामुदायिक वनको ३२औँ साधारणसभा, वन संरक्षण र पारदर्शितामा जोड

बालकृष्ण थापा क्षेत्री

दाङ, बडहरा २०८३ असोज २५

दाङको गढवा गाउँपालिका–१, बडहरास्थित कुलपानी सामुदायिक वन उपभोक्ता समूहको ३२औँ साधारणसभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको सक्रिय सहभागितामा जोड दिइएको छ।

कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक वन महासंघका प्रवक्ता तीर्थराज ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा कालाकाटे सबडिभिजन वन कार्यालयका आत्मराम पाण्डे, अनिल खड्का तथा जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुमबहादुर गाहा मगरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ज्ञवालीले गर्नुभएको थियो। समूहका उपाध्यक्ष राकेश शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सञ्चालन समूहकी सचिव दिलबसी विकले गर्नुभएको थियो।

साधारणसभामा अध्यक्ष नवराज शर्माले समूहको भावी कार्ययोजना तथा आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। आवश्यक संख्यामा सहभागी उपस्थित नभएकाले आगामी कात्तिक १५ गते पुनः साधारणसभा आयोजना गरिने जानकारीसमेत उहाँले दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले सामुदायिक वन समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबै उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले साधारणसभा समूहले वर्षभरि गरेका कामको समीक्षा गर्ने, आगामी योजना तथा कार्यक्रम प्रस्तुत गर्ने र आवश्यक नीति–नियम तथा कार्ययोजना पारित गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

साधारणसभामा उपभोक्ताको उपस्थिति मात्र पर्याप्त नहुने भन्दै उहाँले वनको संरक्षण, व्यवस्थापन र विकासका लागि उपभोक्ताले आफ्ना सल्लाह, सुझाव तथा विचार सक्रिय रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।

सामुदायिक वनको उचित संरक्षण र व्यवस्थापनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायका आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो। वन उपभोक्ता समूहले प्रचलित कानुन, समूहको विधान तथा स्वीकृत कार्ययोजनाअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले समूहका गतिविधि पारदर्शी र जवाफदेही हुनुपर्ने बताउनुभयो।

त्यस्तै, सामुदायिक वनबाट प्राप्त हुने आम्दानी तथा सुविधालाई उपभोक्ताको आवश्यकता सम्बोधन गर्ने र स्थानीय समुदायको हितमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वनको संरक्षण र विकास कुनै एक व्यक्ति वा समितिको मात्र जिम्मेवारी नभई सम्पूर्ण उपभोक्ताको साझा दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुमबहादुर गाहा मगरले पनि आफ्ना धारणा राख्दै सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा सहकार्य र सामूहिक जिम्मेवारीको महत्त्व औँल्याउनुभएको थियो।

सामुदायिक वनलाई प्रभावकारी, पारदर्शी र उपभोक्तामैत्री बनाउन जिम्मेवार नेतृत्व, नीति–नियमको पालना तथा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेकोमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए।

कुलपानी सामुदायिक वन उपभोक्ता समूहको आगामी साधारणसभा कात्तिक १५ गते पुनः आयोजना गरिने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ