एनबीएफए र मित्रश्री पाठशाला यु–१२ ब्वाइजतर्फ फाइनलमा

काठमाडौं, साउन १९ – एनबीएफए र मित्रश्री पाठशालाले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजतर्फ फाइनलमा स्थान सुरक्षित गरेका छन्।

बूढानीलकण्ठ नगरपालिका–भंगालस्थित भ्याली पब्लिक विद्यालयमा सोमबार सम्पन्न सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। एनबीएफएका आरुष दाहालले दुवै गोल गरे भने डाफोडिलका जेभिसले एक सान्त्वना गोल फर्काए।

अर्को सेमिफाइनलमा मित्रश्री पाठशालाले ब्रम्हकुञ्जलाई ३–२ गोलले हराउँदै फाइनल यात्रा तय गर्‍यो। मित्रश्रीका रिसबले दुई गोल गरे भने अर्को गोल आत्मघाती उपहारका रूपमा प्राप्त भयो। ब्रम्हकुञ्जका सत्यम र आयुशले समान एक–एक गोल गरे।

यु–१६ ब्वाइजतर्फ एलआरआई र निम्स सेमिफाइनलमा प्रवेश गरेका छन्। एलआरआईले डाफोडिललाई ३–० गोलले पराजित गर्दा आशुतोषले दुई तथा दिक्षान्तले एक गोल गरे। निम्सले रिब्सलाई २–० गोलले हराउँदा करणले दुवै गोल गरे।

यु–१६ गल्र्सतर्फ कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज उपाधिका लागि भिड्ने भएका छन्। कौस्तुभले गोल्डेनपिकलाई २–० गोलले हराउँदा मिरा बस्नेत र सुहवीले समान एक–एक गोल गरे। ब्रम्हकुञ्जले भ्याली पब्लिकलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो। विजयी टोलीका लागि आशिका र सन्जिराले एक–एक गोल गरे।

तेस्रो स्थानका खेलमा यु–१२ ब्वाइजतर्फ ब्रम्हकुञ्जले डाफोडिललाई टाइब्रेकरमा २–१ ले हरायो। यु–१६ ब्वाइजमा रिब्सले डाफोडिललाई ५–२ गोलले तथा यु–१६ गल्र्समा गोल्डेनपिकले भ्याली पब्लिकलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गरे।

प्रतियोगिताका विभिन्न विधाका फाइनल खेल मंगलबार हुँदैछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ