एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्री
दाङ, कालाकाटे । २०८३ साउन २४ गते

गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको भौगोलिक अवस्था र वरिपरिको स्वच्छ वातावरणले विद्यालयको भविष्यप्रति थप सम्भावना देखाउँछ। यही सम्भावनालाई आत्मसात गर्दै विद्यालयलाई सकेसम्म सुविधासम्पन्न बनाउने र आफ्ना क्षेत्रका मात्र नभई अन्य ठाउँका विद्यार्थीसमेत पढ्न आउन आकर्षित गर्ने सोच केही वर्षअघि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चित्रबहादुर महतारा क्षेत्रीले अघि सारेका थिए।

अध्यक्ष पदमा रहँदा सुरु भएको त्यो सोच अहिले आएर सामूहिक अभियानमा परिणत भएको छ। हाल बस खरिद समितिका संयोजक रहेका क्षेत्री आफ्नै बलबुताले मात्र नभई समाज, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुक सबैलाई जोडेर विद्यालयका लागि बस खरिद गर्ने अभियान सफल बनाउन निरन्तर लागिरहेका छन्।

बस खरिदका लागि गढवा गाउँपालिका तथा विभिन्न वन समितिबाट सहयोग प्राप्त भए पनि आवश्यक रकम अपुग भएपछि पूर्वविद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी तथा मनकारी व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको संयोजक क्षेत्रीले बताए।

साउन २३ गतेसम्म विभिन्न दाताबाट १ लाख ४१ हजार ३ सय ९१ रुपैयाँ सहयोग संकलन भइसकेको छ। सहयोग आउने क्रम अझै जारी रहेकाले बस खरिद गर्ने सपना पूरा हुनेमा आफू निकै आशावादी रहेको क्षेत्रीको भनाइ छ।

कसले कति गरे सहयोग ?

बस खरिद अभियानमा विद्यालयसँग जोडिएका तथा समाजका विभिन्न व्यक्तिहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेका छन्।

  • विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामाजिक–शैक्षिक व्यक्तित्व राजकुमार योगी — रु. १७,५००
  • निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर महतारा क्षेत्री — रु. १५,५५५
  • पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष दिपेन्द्र बुढा — रु. १५,५५५
  • रिसि राम पोख्रेल (राजन) — रु. १५,५५५
  • मिना योगी — रु. १५,५५५
  • सन्दीप शर्मा — रु. २०,०१०
  • विक्रम पुरी — रु. १५,०००
  • रेन्बो जि.सी. — रु. १५,००१
  • दिपु आले — रु. १०,५००
  • राजु परियार — रु. ११,१६०
  • चन्द्र पुरी — रु. ५,५५५

यी रकमहरू हेर्दा सहयोगको आकारभन्दा पनि विद्यालयप्रतिको माया र बालबालिकाको भविष्यप्रतिको चिन्ता ठूलो देखिन्छ। कसैले आफ्नो आम्दानीबाट केही रकम छुट्याएका छन्, कसैले विद्यालयसँगको पुरानो सम्बन्ध सम्झेर सहयोग गरेका छन् भने कसैले आफ्ना बालबालिकाले पढेको विद्यालयको भविष्य राम्रो होस् भन्ने चाहनाले हात बढाएका छन्।

संयोजक चित्रबहादुर महतारा क्षेत्रीका अनुसार विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, पूर्वविद्यार्थी तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूबाट निरन्तर सहयोग र हौसला प्राप्त भइरहेको छ।

“सबैको साथ र सहयोग निरन्तर आइरहेको छ। त्यसैले हामी यो अभियानमा सफल हुन्छौँ भन्ने ठूलो आशा जागेको छ,” क्षेत्रीले भने।

उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन्।

कालाकाटेको जनता माविको बस खरिद अभियान अहिले एउटा विद्यालयको मात्र अभियान रहेन। यो गाउँको साझा सपना बनेको छ।

जनता मा.वि. कालाकाटले ल्याउन खोजेको यस्तै प्रकारको बसको सपना हो ।

कसैले हजार दिए, कसैले पन्ध्र हजार। रकम फरक भए पनि उद्देश्य एउटै छ—विद्यालयका बालबालिकालाई सहज यात्रा गराउने र आफ्नै गाउँको विद्यालयलाई अझ राम्रो बनाउने।

सायद कुनै दिन यही अभियानबाट खरिद भएको बसमा चढेर कालाकाटेका बालबालिका विद्यालय पुग्नेछन्। त्यतिबेला बसभित्र बसेका ती नानीहरूको मुस्कानमा आज सहयोग गर्ने प्रत्येक मनकारी हातको योगदान देखिनेछ।

त्यही दिनका लागि अहिले कालाकाटे जुटिरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ