इसिडिएफ प्रशिक्षार्थीलाई विद्यालयमा ‘वजिटि’ गराउने सहमति, १९ महिने अभ्यास कार्यक्रम अघि बढ्दै
बालकृष्ण थापा
देउखुरी, दाङ, ६ गते ।
आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियामा इसिडिएफ (ECDF) सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व हेमराज भण्डारीले गर्नुभएको थियो भने इन्स्योर परियोजनाका प्राविधिक संयोजक राजकुमार सोती मगर प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा टेक्निकल अफिसर पप्पु चौधरी, विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलसहित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। शिक्षिका विष्णु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक प्रमोद सुवेदीले गर्नुभएको थियो।
कार्यक्रममा टेक्निकल अफिसर चौधरीले विभिन्न स्लाईडहरु देखाउँदै इसिडिएफका प्रशिक्षार्थीहरूले तीन महिने सैद्धान्तिक अध्ययन पूरा गरेपछि विद्यालयहरूमा ‘वजिटि’ (On-the-Job Training) का लागि पठाइने जानकारी दिनुभयो। साथै, प्रशिक्षार्थीलाई विद्यालयले ग्रहण गर्दा हुने फाइदा र उनीहरूलाई आवश्यक सहयोगका विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा प्रशिक्षार्थीलाई हप्तामा एक दिन पुनः अध्ययनका लागि विद्यालयमै पठाउनुपर्ने प्रस्तावमा केही सहभागीले व्यवहारिक कठिनाइ औंल्याए। दुर्गा भवानी माविका प्रधानाध्यापक केशव राज आचार्यले हाल लागू साप्ताहिक बिदा व्यवस्थासँग तालमेल मिलाउन चुनौती हुने बताउनुभयो। त्यसैगरी, चन्द्र ज्योति बोर्डिङका सञ्चालक गिरिराज पौडेलले प्रशिक्षार्थीका लागि आवश्यक सामग्री व्यवस्थापन र तलबको प्रतिशत परिवर्तनबारे स्पष्टता माग्नुभयो।
स्टिम एजुकेसनका प्रधानाध्यापक पशुपति पौडेलले प्रशिक्षार्थीहरूलाई बालबालिकासँग व्यवहार गर्दा जिम्मेवार र संवेदनशील हुन सुझाव दिनुभयो। प्रशिक्षार्थीहरूको तर्फबाट दिलिमा विकले आफूहरूले हासिल गरेको सिकाइ अनुभव साझा गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति भण्डारीले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो।
कार्यक्रमसँगै विभिन्न विद्यालयहरूले इसिडिएफ अध्ययनरत विद्यार्थीलाई १९ महिनासम्म ‘वजिटि’ गराउने सहमति गरेका छन्। प्रारम्भिक रूपमा २५ प्रतिशत तलब उपलब्ध गराइने तथा कार्यसम्पादनको आधारमा प्रत्येक ६ महिनामा तलब समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।
उज्यालो भविष्य, पब्लिक एजुकेसन लगायतका विद्यालयका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने कार्यक्रममा अनुपस्थित विद्यालयहरूले ७ गतेसम्म सम्झौता गर्ने जनाइएको छ।















