अन्नपूर्ण स्पाइकर किङ्सको तेस्रो जित

काठमाडौं, भदौ २५ गते ।
अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बुधबार तेस्रो जित हात पारेको छ। चार खेलबाट अन्नपूर्णको यो तेस्रो जित हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ को सोझो सेटमा पराजित गर्‍यो। अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको पहिलो खेलमा कर्णाली शिवाजसँग ३–१ ले पराजित भएको अन्नपूर्णले त्यसपछि लगातार तीन खेलमा जित निकालेको हो। अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० तथा मधेश वारियर्सलाई ३–१ को सेटमा हराएको थियो।

खप्तड फाल्कन्सका लागि भने प्रतियोगिताको चारै खेल निराशाजनक बने। खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली शिवाज र तेस्रोमा मधेश वारियर्ससँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो। चौथो खेलमा अन्नपूर्णसँग पराजित भएसँगै खप्तड प्रतियोगिताबाट बाहिरिएको छ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल भलिबल संघको सहयोग रहेको छ। लिगमा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

लिग चरणमा शीर्ष स्थान हासिल गर्ने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ।

एनभीएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ, जुन नेपाली भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशि भएको आयोजकले जनाएको छ।

पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलोपटक आयोजना गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ