अनौठो संयोग : उद्घाटनदेखि चौथो दिनसम्म पेनाल्टी सुटआउटको रोमाञ्च

बालकृष्ण थापा क्षेत्री
रामनगर, २०८३ असोज ५ गते ।

प्रथम खुला फुटबल प्रतियोगिताको चौथो दिन पनि खेलाडी र दर्शकले रोमाञ्चक प्रतिस्पर्धाको अनुभव गरेका छन्। चौथो दिन सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा खुरुरिया फुटबल क्लब विजयी हुँदा दोस्रो खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ।

प्रतियोगिताको उद्घाटनदेखि नै पेनाल्टी सुटआउटमार्फत खेलको नतिजा टुंगिने क्रम चौथो दिनसम्म पनि निरन्तर रहनुलाई प्रतियोगिताको एउटा अनौठो संयोगका रूपमा हेरिएको छ।

चौथो दिनको पहिलो खेलमा खुरुरिया फुटबल क्लब र यङ व्वायज् फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफको २५औँ मिनेटमा खुरुरियाले गोल गर्दै अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुआतमै खुरुरियाका रोहन वि.क.ले थप गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि यङ व्वायज्ले खेलमा फर्कने प्रयास गर्दै एक गोल गरे पनि थप गोल गर्न सकेन।

खेलको १५औँ मिनेटमा खुरुरियाका विश्वास घर्तीले थप एक गोल गरेपछि खुरुरिया फुटबल क्लबले खेल आफ्नो पक्षमा पार्‍यो।

खेलपछि खुरुरिया फुटबल क्लबलाई मायाको चिनो प्रदान गरिएको थियो। उक्त खेलको म्यान अफ द म्याच खुरुरियाका रोहन वि.क. घोषित भए।

त्यस्तै, चौथो दिनको दोस्रो खेलमा बनगाई फुटबल क्लब लमही र एकतानगर फुटबल क्लब राप्तीबीच कडा प्रतिस्पर्धा भयो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो।

पेनाल्टी सुटआउटमा बनगाई फुटबल क्लबले ४ गोल गर्न सफल भयो भने एकतानगरले २ गोल मात्र गर्न सकेको थियो। ४–२ को नतिजासँगै बनगाई फुटबल क्लब प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ।

खेलपछि बनगाई फुटबल क्लबलाई मायाको चिनो प्रदान गरिएको थियो। दोस्रो खेलको म्यान अफ द म्याच बनगाई फुटबल क्लबका गोलरक्षक अंकीत मगर घोषित भए।

मंगलबारका खेल

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ।

दिउँसो १ बजे: लुम्बिनी फुटबल क्लब विरुद्ध लमही फुटबल क्लब

अपराह्न ३ बजे: युनाइटेड फुटबल क्लब निलो विरुद्ध खुरुरिया फुटबल क्लब

प्रतियोगितामा हरेक खेलसँगै प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ भने पेनाल्टी सुटआउटले खेलको नतिजालाई थप रोचक बनाउँदै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ