२०औँ एसियाडमा नेपालका उपलब्धि : पदकभन्दा परको सफलता

खुशराज दाहाल, नागोया, जापान

काठमाडौं, असोज १८ गते ।

२०औँ एसियाली खेलकुद जापानको आइची–नागोयामा सम्पन्न भएको छ । अक्टोबर ४ मा नागोयास्थित पालोमा मिजुहो स्टेडियममा आयोजित समापन समारोहसँगै एसियाली खेलकुदको २०औँ संस्करण सकिएको हो । समापन समारोहमा २१औँ संस्करणको आयोजक कतारलाई एसियाली ओलम्पिक परिषद्को झण्डा र मस्कट हस्तान्तरण गरिएको छ । २१औँ एसियाड सन् २०३० मा कतारमा आयोजना हुनेछ ।

२०औँ एसियाडमा चीन सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा रह्यो । चीनले १६९ स्वर्णसहित कुल ३४१ पदक जित्दा नेपालले दुई कांस्य पदकसहित ४५ राष्ट्रमध्ये ३६औँ स्थानमा प्रतियोगिता टुंग्याएको छ ।

नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी थिए । पदक तालिकामा अपेक्षित सुधार हुन नसके पनि नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शन, राष्ट्रिय कीर्तिमान र केही खेलमा प्राप्त गरेको सफलताबाट नेपाली खेलकुदमा आशाको नयाँ आधार दिएका छन् ।

चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाडपछि नै २०औँ एसियाडको तयारी सुरु गरिएको थियो । दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी लक्ष्यसहित गरिएको तयारीअनुसार उपलब्धि हासिल हुन नसकेपछि यसको समीक्षा आवश्यक देखिन्छ । तर पदक संख्या मात्रलाई आधार बनाएर यसपटकका खेलाडीको प्रदर्शनलाई मूल्यांकन गर्नु उचित हुँदैन ।

सीमित स्रोतसाधनका बीच नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन, राष्ट्रिय कीर्तिमानमा सुधार र प्रतिस्पर्धात्मक क्षमता विकास हुनु पनि महत्वपूर्ण उपलब्धि हो ।

महिला कबड्डीको पदक निरन्तरता

टिम गेमतर्फ नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा पदक जितेर इतिहास बनाएको छ ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाडमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै कांस्य पदक सुनिश्चित गर्‍यो । यसअघि १९औँ एसियाडमा पनि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

एसियाली खेलकुदमा लगातार दुई संस्करण पदक जित्ने नेपाली खेलाडीको इतिहासमा यसले महत्वपूर्ण स्थान बनाएको छ । यसअघि तेक्वान्दोका दीपक विष्टले सन् २००२ को बुसान र २००६ को दोहा एसियाडमा लगातार कांस्य पदक जितेका थिए ।

करातेबाट पदकको सुरुवात

२०औँ एसियाडमा नेपालका लागि पहिलो पदक करातेबाट आयो । पुरुष ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कांस्य पदक जिते ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका वात्थाना जायासनलाई ९–१ अंकले पराजित गर्दै नेपाललाई पदक दिलाएका थिए ।

करातेमा एरिका गुरुङबाट पनि पदकको ठूलो अपेक्षा गरिएको थियो । १९औँ एसियाडमा ऐतिहासिक रजत पदक जितेकी एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । यसपटक भने उनी पदकबाट वञ्चित भइन् ।

एसियाली खेलकुदको इतिहासमा करातेले नेपाललाई अहिलेसम्म पाँच पदक दिलाइसकेको छ । सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राईले कांस्य, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोलेले कांस्य र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य पदक जितेका थिए ।

एथलेटिक्समा राष्ट्रिय कीर्तिमानको वर्ष

२०औँ एसियाडमा नेपालको सबैभन्दा उल्लेखनीय उपलब्धि एथलेटिक्समा देखियो । नेपाली खेलाडीले दशकौँ पुराना राष्ट्रिय कीर्तिमान तोड्दै आफ्नो प्रदर्शनमा उल्लेखनीय सुधार गरे ।

मुकेश पालले तोडे २२ वर्ष पुरानो कीर्तिमान

पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले २२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरे । उनले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरे ।

यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान थियो । पालले १८ धावकमध्ये नवौँ स्थान हासिल गरे ।

पालले पुरुष १ हजार ५ सय मिटरमा पनि व्यक्तिगत प्रदर्शन सुधार गरे । उनले ३ मिनेट ४९.५७ सेकेन्डको समय निकाले ।

सोम कुमालको नयाँ राष्ट्रिय रेकर्ड

पुरुष ८०० मिटरमा सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले दूरी १ मिनेट ४८.९५ सेकेन्डमा पूरा गरे ।

यसअघि उनकै नाममा रहेको १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई उनले सुधार गरेका हुन् ।

पूर्णलक्ष्मीको व्यक्तिगत सुधार

महिला ५ हजार मिटरमा पूर्णलक्ष्मी न्यौपानेले पनि आफ्नो व्यक्तिगत समय सुधार गरिन् । उनले दूरी १७ मिनेट ००.६० सेकेन्डमा पूरा गरिन् । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट २० सेकेन्ड थियो ।

अन्य खेलमा पनि देखियो सुधार

एथलेटिक्सबाहेक अन्य खेलमा पनि नेपाली खेलाडीले प्रतिस्पर्धात्मक क्षमता देखाए ।

बक्सिङमा खगेन्द्र रोकामगरले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडीलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

पौडीको पुरुष ५० मिटर बटरफ्लाइमा अभिषेक प्रधानले २६.०५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा बनाएको २६.४० सेकेन्डको आफ्नै कीर्तिमान सुधार गरेका हुन् ।

टेबलटेनिसको मिक्स डबल्समा रुविन महर्जन र इभाना थापाको जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गर्‍यो ।

राफ्टिङ तथा क्यानोइङको क्यानो स्लालम र पुरुष एकल कायाकमा विजय माझी र आशिष रानामगर सेमिफाइनलसम्म पुगे । नयाँ खेलमा नेपाली खेलाडीले देखाएको यो प्रदर्शनले भविष्यमा सम्भावनाको संकेत गरेको छ ।

क्रिकेटमा शानदार सुरुवात, वर्षाले रोक्यो यात्रा

नेपाली क्रिकेट टोलीले पनि प्रतियोगितामा बलियो सुरुवात गरेको थियो । समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै नेपालले प्रभावशाली सुरुवात गर्‍यो ।

जापानविरुद्ध लोकेश बमले २२ बलमा अविजित ५२ रन तथा सुन्दीप जोराले ३२ बलमा ५७ रन बनाएर आक्रामक ब्याटिङ प्रस्तुत गरे ।

तर क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल श्रीलंकासँगको प्रतिस्पर्धाबाट बाहिरियो । खेल रद्द भएपछि वरियताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको थियो ।

पदकभन्दा महत्वपूर्ण नयाँ आधार

२०औँ एसियाली खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । यसपटक पदक तालिकामा अपेक्षित सुधार हुन नसके पनि खेलाडीको व्यक्तिगत प्रदर्शन र राष्ट्रिय कीर्तिमानमा भएको सुधारलाई भविष्यको आधारका रूपमा लिन सकिन्छ ।

२१ खेलमा सहभागी नेपाली खेलाडीमध्ये केहीले दोस्रो चरणसम्मको यात्रा तय गरे भने कतिपय खेलाडी पदकको नजिक पुगेर रोकिए । यसले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता बढ्दै गएको देखाएको छ ।

अब आवश्यक छ—उपलब्धिलाई निरन्तरता दिने योजना । खेलाडीलाई नियमित प्रशिक्षण, पर्याप्त अन्तर्राष्ट्रिय exposure, वैज्ञानिक प्रशिक्षण, स्तरीय खेल पूर्वाधार, प्रशिक्षक तथा खेल सामग्रीको उपलब्धता र दीर्घकालीन लगानीमा ध्यान दिन सके आगामी एसियाडमा नेपालको प्रदर्शन थप सुधार गर्न सकिन्छ ।

यसपटक प्राप्त दुई कांस्य पदक महत्वपूर्ण छन् । तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा राष्ट्रिय कीर्तिमानमा भएको सुधार, व्यक्तिगत प्रदर्शनमा आएको उन्नति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले देखाएको आत्मविश्वास हो ।

साना सुधारबाटै ठूलो सफलता सुरु हुन्छ । २०औँ एसियाडमा देखिएका यी सकारात्मक संकेतलाई योजनाबद्ध रूपमा अघि बढाउन सके २१औँ एसियाडमा नेपालको पदक तालिकामा उल्लेखनीय सुधार सम्भव छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ