१०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार

नेपाल बास्केटबल संघ को आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता आगामी असार १ गतेदेखि हुने भएको छ। प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भीमसिंह गुरुङ ले प्रतियोगितामा मोफसलका तीनसहित कुल आठ टोलीको सहभागिता रहने जानकारी दिए।

मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएसन (कास्की), सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै काठमाडौं उपत्यकाबाट आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता संयोजक विकास शाही का अनुसार मोफसलका टोलीलाई प्रोत्साहनस्वरूप जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ हात पार्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) लाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै मोफसलबाट सहभागी खेलाडीमध्ये उत्कृष्ट एक उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।

नेपाल बास्केटबल संघले यही प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गर्ने जनाएको छ। छनोट भएका खेलाडीलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गराइनेछ।

अध्यक्ष गुरुङका अनुसार सन् २०२६ को सेप्टेम्बर वा अक्टोबरमा आयोजना हुने साबा महिला च्याम्पियनसिप नेपाल वा भारतमध्ये एक देशमा हुने सम्भावना रहेको छ। उनले प्रतियोगिता आयोजनाका लागि नेपाल र भारत दुवैले दाबेदारी पेश गरेको जानकारी दिँदै करिब ८० प्रतिशत सम्भावना नेपालमै आयोजना हुने रहेको बताए।

कीर्तिपुरस्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको नेपाल बास्केटबल संघले जनाएको छ।

महिला बास्केटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ