सुजन गडाल र दीक्षा दाहाल बने दोश्रो मेयर कप टेबलटेनिस च्याम्पियन

बनेपा,  २०८३असार ९ गते मङ्गलबार 

हिजो बनेपामा सम्पन्न दोश्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा नेपाल आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहाल च्याम्पियन बनेका छन्।

बनेपास्थित केएमसी हलमा आयोजित प्रतियोगिताको खुला पुरुष एकलतर्फ सुजन गडालले स्वर्ण पदक जिते। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले उपाधि आफ्नो नाममा लेखाउन सफल भए। नेपाल प्रहरीका संयोग कपाली दोस्रो स्थानमा रहे भने भिजन एकेडेमीका हिमाल विष्ट र एभीएमका प्रजिल भट्टराई तेस्रो स्थानमा रहे।

खुला महिला एकलतर्फ भिजन एकेडेमीकी दीक्षा दाहालले स्वर्ण पदक जित्दै च्याम्पियन बनिन्। एभीएमकी वियंका राई दोस्रो स्थानमा रहिन् भने भिजनकी योङगी पौडेल र नेपाल प्रहरीकी सुस्मिता खड्का तेस्रो स्थान हासिल गर्न सफल भए।

बनेपा नगर टेबलटेनिस संघको आयोजनामा तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको यु–१८ एकलतर्फ ब्वाइज समूहमा एभीएमका जयस्नु महर्जन र गल्र्सतर्फ एभीएमकै अर्सना महर्जनले स्वर्ण पदक जिते।

यस्तै भेट्रान ४० वर्षमाथिको पुरुष एकलमा चन्दन शाही विजेता बने। ४५ वर्षमाथिको पुरुष डबल्समा चन्दन शाही र रक्तमान महर्जनको जोडीले स्वर्ण जित्दा ५५ वर्षमाथिको पुरुष एकलमा राजेन्द्र वज्राचार्यले उपाधि हात पारे।

प्रतियोगिता संयोजक विशसुन्दर गोथेका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभागीय टोली, क्लब तथा विभिन्न शैक्षिक संस्थाका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलहरूबीच सम्पन्न प्रतियोगिताले नेपाली टेबलटेनिस खेलको विकास र नयाँ खेलाडीको पहिचानमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ