विद्यार्थी नेतृत्व चयन गर्दै गोरखा आइडियल स्कूलमा प्रिफ्याक्ट प्रणाली गठन
बालकृष्ण थापा क्षेत्री
राम नगर, जेठ २ ।
दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित गोरखा आइडियल स्कूल लालमटियाले विद्यार्थी नेतृत्व विकासलाई प्राथमिकता दिँदै कक्षा ९ सम्मका विद्यार्थीहरूबाट छात्र र छात्रातर्फ एक/एक जना ग्रुप लिडर (प्रिफ्याक्ट) चयन गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा मान बहादुर बुढा मगर को उपस्थितिमा उक्त चयन प्रक्रिया सम्पन्न गरिएको हो । साथै हरियो, रातो, पहेंलो र निलो गरी चार समूहबाट पनि आ–आफ्ना समूहका नेता चयन गरिएको विद्यालयले जनाएको छ ।







कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य बसन्त बहादुर पुन मगरले गोरखा ग्रुपले घोराहीमा पहिलो पटक विद्यालय स्थापना गरेदेखि नै विद्यार्थी नेतृत्व विकासका लागि प्रिफ्याक्ट प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले त्यस समय चार रंगका इसिए (ECA) ड्रेस प्रयोग गरेर विद्यार्थीलाई समूहगत रूपमा परिचालन गर्दा समाजमा नौलो अभ्यासका रूपमा हेरिएको स्मरण गर्नुभयो ।
प्राचार्य पुनले शिक्षा क्षेत्रमा गोरखा ग्रुपले पुर्याएको योगदानको श्रेय संस्थापक अध्यक्ष मान बहादुर बुढा मगर तथा उहाँको समूहलाई जाने उल्लेख गर्दै ब्रिटिस लाहुरे पृष्ठभूमिबाट आएर पनि शिक्षामा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।

कार्यक्रममा नव–निर्वाचित प्रिफ्याक्टहरूलाई संस्थापक अध्यक्ष मान बहादुर बुढा मगरले,अबिरको टीका लगाएर सम्मान गर्नु भएको थियो । उनीहरूलाई आगामी दिनमा आफ्ना मातहतका विद्यार्थीलाई अनुशासित बनाउनुका साथै चारवटै समूहबीच उत्कृष्ट कार्य प्रदर्शन गर्ने वातावरण सिर्जना गर्न जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ ।
गर्मीका बीच जेठ १ गते आयोजित कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाको समेत उपस्थिति रहेको थियो ।



