राप्तीमा सिकल सेल एनिमिया तथा थालेसेमिया सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगर
मसुरिया, २८ जेठ।
दाङको राप्ती गाउँपालिकामा सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगको समयमै पहिचान, परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत राप्ती आधारभूत अस्पताल कालापानीमा यस्ता रोगको परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा सम्भव भए सम्म प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार र औषधि सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने जानकारी दिनुभयो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका लागि समुदायस्तरमा आवश्यक सचेतनाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार गाउँपालिकाले गत माघ महिनामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा केही व्यक्तिमा सिकल सेल तथा थालेसेमियासम्बन्धी समस्या देखिएकाे बताउनुभयो।

राउतले सरकारले यस्ता रोगबाट प्रभावित बिरामीका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था रहेको समेत जानकारी दिनुभयो। उहाँले अभिमुखीकरण कार्यक्रमले गाउँघरमा लुकेर रहेका बिरामीको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

साथै विद्यालय र समुदायस्तरमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको समेत उहाँले बताउनुभयो।

स्वास्थ्य कार्यालय दाङका रक्तजन्य रोग फोकल पर्सन उज्ज्वल कुमार पौडेलले सिकल सेल एनिमिया र थालेसेमिया रोगको पहिचान, लक्षण, परीक्षण, उपचार तथा रोकथामका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले यस्ता वंशाणुगत रोगको समयमै परीक्षण र परामर्शले रोग व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यवसायीका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको सहभागिता रहेको थियो।

गाउँपालिकाले सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोगको पहिचान, रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ