राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट
मसुरिया, असार ११
दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो।
प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ पुँजीगत तथा ५५ करोड ३५ लाख १० हजार रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ। वडा तहमा सञ्चालन हुने चालु तथा पुँजीगत कार्यक्रमका लागि ६ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ५४ करोड ३२ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटमार्फत ६ करोड ४७ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यसैगरी आन्तरिक स्रोत, रोयल्टी बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन शुल्क तथा चालु आर्थिक वर्षको मौज्दात रकमसमेत गरी २ करोड ५ लाख रुपैयाँ आन्तरिक आम्दानी जुट्ने अनुमान गरिएको छ।
उपाध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा अनुमान गरिएको ६५ करोड २७ लाख २ हजार रुपैयाँको तुलनामा आगामी आर्थिक वर्षको आय अनुमान ९ करोड ७७ लाख ९४ हजार रुपैयाँ अर्थात् १४.९८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको ६५ करोड २७ लाख २ हजार रुपैयाँको बजेटको तुलनामा आगामी वर्षको बजेट करिब १० करोड २२ लाख ४० हजार रुपैयाँले बढेको छ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिएको जनाएको छ।


