राखेपका नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यलाई स्वागत
देउखुरी, दाङ, जेठ २९ गते शुक्रबार
नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष तथा बोर्ड सदस्यलाई शुक्रबार स्वागत तथा सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित खेलाडी संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा बोर्ड सदस्यहरू सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाही लाई स्वागत गरिएको हो।
कार्यक्रममा नेपाल ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए।
सो अवसरमा दुवै संस्थाले नवनियुक्त उपाध्यक्ष तथा बोर्ड सदस्यहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मानसमेत गरेका थिए।
यसैबीच, राखेप बोर्ड सदस्यमा नियुक्त मोनालिशा खम्बू भने कार्यक्रममा उपस्थित हुन सकिनन्। उनी रोहिंग्या शरणार्थी समुदायलाई चेस प्रशिक्षण दिन बिहीबार बंगलादेश प्रस्थान गरेकाले कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिइएको थियो।
खेलकुद क्षेत्रका सरोकारवालाहरूले नयाँ नेतृत्वले नेपाली खेलकुदको विकास, खेलाडीको हित संरक्षण तथा खेल प्रशासनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।


